प्यूठान : गठवन्धनको वर्तमान सरकार झण्डा हल्लाउनका लागि मात्रै सीमित भएको एमाले उपमहासचिव प्रदिप ज्ञवालीले बताएका छन् । नेकपा एमाले प्यूठानको नवौं जिल्ला अधिवेशनको उद्दघाट्न गर्दै उनले भने,‘अप्राकृतिक गठबन्धनको सरकारले देशलाई अस्थिरता तर्फ धकलिरहेको छ ।’ पार्टी विभाजनको मुख्य नाइके प्रचण्ड र माधव नेपालले दक्षिणपन्थीको पाउँमा शरण लिन गएको समेत उनले उल्लेख गरे ।
‘आफ्नै पार्टीको सरकार ढालेर पार्टीको नाम एकीकृत समाजवादी राख्नु यो भन्दा भद्दा मजाक र नौटंकी अरु के हुनसक्छ ? ज्ञावलीले माधव कुमार नेपाललाई लक्षित गर्दै भने, ‘जनादेशबाट सरकार बहिर्गमन नभएकोले जनताको मनमनमा एमाले छ, जसको पुष्टि एमाले महाधिवेशनको खुल्ला सत्रले गरिसकेको छ ।’
देश बनाउने सपना एमालेले मात्रै देखेको उनको भनाई छ । सरकार संवैधानिक अंगलाई दुरुपयोग गर्नमा व्यस्त रहेको बताउँदै ज्ञवालीले भने, ‘देश गंभीर आर्थिक संकटमा गुज्रँदै छ, बैंकमा तरलताको अभाव छ ।’ सरकार चलाउन नजानेकै कारण देशले इतिहासमा पहिलोपटक बजेट होलिडेको समेत सामना गर्नुपरेको उनले उल्लेख गरे । अब हुने तीनवटै तहको निर्वाचनमा एमालेले एकल ५१ प्रतिशत जनमत हासिल गर्ने गरी लाग्न उनले कार्यकर्ताहरूलाई निर्देशन समेत दिए ।
उद्दघाट्नमा विशेष अतिथि एमाले स्थायी कमिटी सदस्य मणीचन्द्र थापाले राष्ट्रबादको पहरेदार तथा विकासको संवाहक पार्टी एमाले मात्रै रहेको बताए । एमाले पोलिटब्यूरो सदस्य तथा प्यूठान इन्चार्ज सूर्य थापाले अब हुने स्थानीय तहको निर्वाचनबाट राष्ट्रिय जनमोर्चाको हातमा रहेको झिमरुक र मल्लरानी गाउँपालिकाको सरकार एमालेले खोस्ने ठोकुवा गरे । नेकपा मसाल सानो क्लबमा सीमित हुनपुगेको बताउँदै थापाले छिटफुट रूपमा रहेको समाजवादी पार्टीको अस्तित्वलाई पूर्णरूपमा उन्मूलन गरिने समेत उल्लेख गरे ।
उद्दघाट्न कार्यक्रमलाई लुम्बिनी प्रदेशसभा सदस्य, एमाले प्यूठान सह इन्चार्ज हरिप्रसाद रिजाल, संविधान सभा सदस्यद्धय हिरा बहादुर केसी, धन बहादुर रायमाझी लगायतका नेताहरुले सम्बोधन गरे । पार्टीको बन्द शत्र शनिबार बिहानदेखि सुरु हुने छ । आगामी नेतृत्वको लागि एमाले प्यूठानका उपसचिव मधुर शर्मा, प्रदेश कमिटी सदस्य अजय सिंह, विजयविराज बिष्ट र जिल्ला कमिटी सचिवालय सदस्य नेहरसिंह केसीको नाम चर्चामा छ । एमाले नेतृत्वले भने सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास जारी राखेको छ । अधिवेशनका अवसरमा जिल्लाभर १ सय ५८ जना अरु पार्टी छाडेर एमालेमा प्रवेश गरेका छन् ।