काठमाण्डौँ : नेकपा एमाले निकट नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन र राष्ट्रिय पर्यटन व्यवसायी संगठन नेपालको संयुक्त सचिवालयको भेलाले संगठनलाई एकता गर्ने निर्णय गरेको छ । निर्णयपछि यथाशीघ्र नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको तेस्रो महाधिवेशन सम्पन्न गर्ने निर्णय भएको छ ।
मंगलवार काठमाण्डौँमा सम्पन्न दुवै व्यवसायी संगठनको भेला नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका वरिष्ठ उपाध्यक्ष घनेन्द्र श्रेष्ठको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । भेलाका प्रमुख अतिथि नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघका अध्यक्ष एलबी साँवा लिम्बु, विशेष अतिथि नेकपा एमाले उद्योग व्यवसायी विशेष जिल्ला कमिटीका अध्यक्ष तथा नेपाल पर्यटन व्यवसायी संगठनका पूर्व अध्यक्ष चन्द्रप्रसाद रिजाल र अतिथि नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघका उपाध्यक्ष तथा नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका ईन्चार्ज सीएन पाण्डे र नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघका महासचिव भागिरथ सापकोटा समेतको उपस्थिति थियो । उनीहरुले दुई संस्थालाई एक बनाएर लैजाने समेत उद्घोष गरे ।
भेलाले दुवै संगठनका पदाधिकारी तथा केन्द्रीय कमिटीका सम्पूर्ण सदस्यलाई आयोजक कमिटीमा परिणत गर्ने र महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ । नयाँ गठन हुने संस्थाको आयोजक कमिटीका संयोजक पूर्ण कुवँर, सहसंयोजक राजेन्द्रप्रसाद सापकोटा र यमबहादुर खड्का सदस्य सचिव रहने गरी दुवै संगठनका सचिवालय सदस्यहरूलाई एकीकृत गरी सचिवालय गठन गर्ने निर्णय भएको पनि भेलामा सहभागी व्यवसायीले बताएका छन् ।
आर्थिक ब्यबस्थापन कमिटीमा संयोजक कलाधर बराल, सह–संयोजकमा लिला बहादुर लामा र सदस्यहरुमा यम बहादुर खड्का, आङग पेम्वा शेर्पा, हरि कुमार श्रेष्ठ चुनिएका छन् । समन्वय समितिमा घनेन्द्र बहादुर श्रेष्ठ, सीताराम शापकोटा, सिएन पाण्डे, चन्द्र रिजाल, पूर्ण बहादुर कुवँर र राजेन्द्र प्रसाद सापकोटा रहेका छन् ।