प्यूठान : नेकपा एमाले प्यूठानले गाउँ र नगरपालिका केन्द्रित कार्यक्रमलाई तिव्रता दिइरहेको छ । पालिकाहरुमा विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम भइरहेको एमालेले जनाएको छ । नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं प्यूठान इन्चार्ज सूर्य थापा, स्थायी कमिटी सदस्य मणी थापा र केन्द्रिय सदस्य एवं सह इन्चार्ज हरि प्रसाद रिजालले गाउँ नगरका नेता, कार्यकर्ताहरुलाई प्रशिक्षण दिइरहेका छन् । शुक्रवारसम्म झिमरुक गाउँपालिका, नौवहिनी गाउँपालिका र गौमुखी गाउँपालिकामा कार्यक्रम सम्पन्न भइसकेको एमाले प्यूठानका उपसचिव मधुर शर्माले जानकारी दिए ।
चितवनमा सम्पन्न पार्टीको दशौं महाधिवेशनको सन्देश, राष्ट्रिय राजनीतिमा एमालेको भूमिका र प्यूठानको राजनीतिक शक्ति सन्तुलनका विषयमा पोलिटव्यूरो सदस्य एवं प्यूठान इन्चार्ज सूर्य थापाले नेता, कार्यकर्ताहरुलाई प्रशिक्षण दिए । जिल्लाका नौ वटै स्थानीय तह र ६४ वटा वडाहरुमा हालै सम्पन्न अधिवेशनबाट निर्वाचित कमिटीका पदाधिकारीहरूको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम समेत सम्पन्न भएको उपसचिव शर्माले जानकारी गराए । जिल्लाका सवै वडाका गाउँबस्तीमा पुगेर पार्टीका नेता, कार्यकर्ताहरुलाई प्रशिक्षित गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ ।
पहिलोपटक इन्चार्ज र सह इन्चार्ज पाउँदा कार्यकर्तामा उत्साह
एमाले प्यूठानको इन्चार्ज र सह इन्चार्जको जिम्मेवारी पहिलो पटक जिल्लाकै नेताहरुले पाउँदा नेता, कार्यकर्ताहरुमा उत्साह जागेको छ । यस अघि इन्चार्ज र सह इन्चार्जको रुपमा जिल्लाका नेताहरुले जिम्मेवारी पाएका थिएनन् । चितवनमा सम्पन्न पार्टीको दशौँ महाधिवेशनबाट निर्वाचित पोलिटव्यूरो सदस्य सूर्य थापाले इन्चार्ज र केन्द्रिय सदस्य हरि प्रसाद रिजालले सह इन्चार्जको जिम्मेवारी पाएका हुन् । स्थायी कमिटी सदस्यमा मणी थापा निर्वाचित भएका छन् । पार्टीको केन्द्रिय प्रतिनिधित्वमा जिल्लाको सहभागीता भएपछि कार्यकर्तामा थप उत्साह छाएको हो ।
सूर्य थापा यस अघि पनि पार्टीको नवौँ महाधिवेशनबाट केन्द्रिय सदस्यमा निर्वाचित भएका थिए । उनको यो दोस्रो कार्यकाल हो । उनले पार्टीमा प्रचार तथा प्रकाशन विभाग उपप्रमुख, पर्यटन विभाग प्रमुख र प्रेस चौतारी नेपालको इन्चार्जको जिम्मेवारी पुरा गरिसकेका छन् । पार्टीको संचारसँग जोडिएर थापाले २० वर्ष बढी अवधिसम्म जिम्मेवारीमा रहेर काम गरे । पूर्व प्रधानमन्त्री झलनाथ खनाल र केपी शर्मा ओलीको प्रेस सल्लाहकारको रुपमा समेत उनले कुशलतापूर्वक जिम्मेवारी पुरा गरे । पार्टीको केन्द्रिय नेतृत्वसँग सिधा सम्पर्क र सरकार संचालनको क्षेत्रमा थापाको खदिलो अनुभव छ । पार्टी टुटफूट र संकटमा गुज्रिएको बेला उनी निडर भएर उभिने गरेका छन् । थापाको स्थायी घर झिमरुक गाउँपालिका १ सौतामारे हो ।
स्थायी कमिटी सदस्य मणी थापा पूर्व खानेपानी मन्त्री भइसकेका नेता हुन् । पूर्व माओवादी पृष्ठभूमीका नेता थापा एमालेमा प्रवेशसँगै मन्त्री भएका थिए । दशौँ महाधिवेशनमा थापा स्थायी कमिटी सदस्यमा निर्वाचित भएका हुन् । उनको एमाले नेतृत्वमा रहेर काम गर्ने यो पहिलो कार्यकाल हो । थापाको स्थायी घर प्यूठान नगरपालिका ८ मा हो ।
नौवहिनी गाउँपालिका ६ प्यूठान निवासी एमालेका केन्द्रिय सदस्य हरि प्रसाद रिजाल हाल प्यूठान क्षेत्र नम्वर १ बाट लुम्विनी प्रदेश सभा सदस्य हुन् । उनी पहिलोपटक एमालेको केन्द्रिय सदस्यमा निर्वाचित भएका हुन् । तीनै जना नेतालाई पार्टीको केन्द्रिय नेतृत्वसँगै जिल्लाको विकास र समृद्धसँग जोडेर लैजान जिल्लाका आम नेता, कार्यकर्ताहरुले सुझाव दिएका छन् । एमाले विभाजनले प्यूठानलाई असर नगरेको जिल्ला अध्यक्ष तुल्सीराम शर्माले जानकारी गराए ।