बुटवल : नेकपा एमालेको राजनीतिक मुखपत्र नवयुग अव अनलाइन संस्करणमा पनि प्रकाशन हुने भएको छ । दशौँ राष्ट्रिय महाधिवेशनका अवसरमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अनलाइनको उद्घाटन गरे । अनलाइन संस्करणको सम्पादक एमालेका केन्द्रिय सदस्य एवं प्रचार तथा प्रकाशन विभाग उपप्रमुख सूर्य थापा रहेका छन् ।
२०१४ साल कात्तिक १५ गते ‘नवयुग’को पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो । अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अंकको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी संघर्षशिल ।’ ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो ।
तर, ०५६ देखि ‘नवयुग’ नेकपा (एमाले) केन्द्रीय कमिटीको ‘राजनीतिक पत्रिका’ का रुपमा नियमित रहि आएको छ । कुनै समय बुटवल–पोखराबाट क्षेत्रीय संस्करणसमेत प्रकाशित गरिसकेको ‘नवयुग’को पदचिह्नमा पछि देशका ठूला दैनिक पत्रिकाहरू क्रमशः क्षेत्रीय संस्करणका रुपमा मोफसलतर्फ लागे ।
पार्टीको केन्द्रीय कमिटीले बेलाबेला जिम्मेवारी हेरफेर गरे अनुरुप ‘नवयुग’को मुख्य नेतृत्व परिवर्तन हुने गरेको छ । यसै क्रममा ०५६ बाट सुरुदेखि लामो अवधिसम्म प्रदीप नेपाल, समय रघु पन्त, ईश्वर पोखरेल, प्रदीप ज्ञवाली हुँदै हाल योगेश भट्टराई प्रमुख र सूर्य थापा उपप्रमुख रहेको नेतृत्वमा प्रचार विभाग र ‘नवयुग’को प्रकाशन छ ।
एमालेकोे केन्द्रीय कमिटीले पहिले ‘एक सदस्य ः एक ‘नवयुग’ र पछि ‘एक परिवार ः एक ‘नवयुग’ को अभियान सञ्चालन गर्ने निर्णयसँगै ‘नवयुग’को प्रकाशनलाई नियमितता दिने काम हुँदै आएको थियो । २०७५ जेठ ३ को पार्टी एकता पछि तीन वर्षसम्म नवयुगको प्रकाशन अलपत्र हुन पुग्यो । २०७७ फागुन २३ गते नेकपा (एमाले)को पुनःस्थापनास“गै चैत–वैशाख पुनः नवयुगको प्रकाशन हुनथाल्यो ।