प्यूठान : बिद्यालयको चौतर्फी बिकासको लागि शिक्षक, विद्यार्थी र अभिभावकको त्रिपक्षिय सम्बन्ध हुनुपर्ने प्युठान नगरपालिकाका शिक्षा इकाइ स्रोत ब्यक्ति बिष्णु पोख्रेलले बताएका छन । बाल विद्या माध्यमिक बिद्यालय मरन्ठाना मजुवाको अभिभावक भेलामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
बिद्यालयको आर्थिक भौतिक र शैक्षिक सुधारको लागि बिद्यालय ब्यवस्थापन समिती र बिद्यालय प्रशासनले मात्र पुरा गर्न नसक्ने भन्दै अन्य शिक्षक कर्मचारी, विद्यार्थी र आम अभिभावक सकारात्मक सोँचका साथ लाग्नुपर्ने उनको भनाई छ । बिद्यालय जस्तो पबित्र स्थलमा राजनीति गर्न नहुने उनले सुझाए । प्यूठान नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष पदम गिरीले बिद्यालयको भौतिक पूर्वाधार शैक्षिक गुणस्तर वृद्धिको लागि प्रत्येक आर्थिक वर्षमा बजेट बिनियोज गरेको बताए । गिरीले भने,‘अब सवै खाले समस्या र असमझदारी त्यागेर बिद्यालयको बिकास र समृद्धिको लागि एकमना एकताका साथ लाग्नु पर्छ’ । उनले विद्यालय व्यवस्थापन समितिमा भएको समस्या समाधान गरेर अघि बढ्न आग्रह गरे ।
भौतिक पूर्वाधार भएपनी शैक्षिक गुणस्तरमा अपेक्षा अनुसार सुधार नभएको जनगुनासो आउने गरेकोले त्यस तर्फ सजक भई सुधारमा खट्न उनले शिक्षकहरुलाई आग्रह समेत गरेका छन् । प्युठान नगरपालिका वडा नम्वर १० का अध्यक्ष तथा बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष नेहर सिंह केसीले बिद्यालयको भौतिक पूर्वाधारको समस्या समाधान भइसकेकोले अब शैक्षिक गुणस्तर सुधारको लागि प्रयास थाल्ने बताए ।
शैक्षिक सस्था भनेको समाजका कलिला बालबालिकाको भबिस्य निर्माण गर्ने कारखाना भएकोले ब्यवस्थापन शिक्षक आम अभिभावक नागरिक संबेदनशिल भएर लाग्नुपर्नेमा जोड दिए । अभिभावक भेलाले सर्वसम्मत रूपमा विद्यालय व्यवस्थापन समितिका सदस्यहरूको छनौट गरेको छ । नेहरसिंह केसी, मान बहादुर केसी, लिला केसी र पुनम केसी सदस्यमा चुनिएिका छन् ।
प्युठान नगरपालिकाको शिक्षा नियमावली अनुसार अभिभावक मध्येबाट दुई जना महिला सहित चार जना सदस्य छनौट हुने व्यवस्था छ । त्यस्तै, विद्यालय रहेको वडा शिक्षा समितिले समाजसेवी ,बुद्धिजीवी , चन्दादाता, अक्षयकोष दाता मध्येबाट १ जना दलित सहित तीन जना सदस्य छनौट गर्ने छ । विद्यालय व्यवस्थापन समितिको गठनका विषयमा सहमती नहुँदा व्यवस्थापन समितिको गठन हुन सकेको थिएन् । तर बुधवार अभिभावकको उपस्थितिमा सर्वपक्षीय सहमतीबाट विद्यालय व्यवस्थापन समितिका सदस्यहरूको छनौट भएको हो ।