बुटवल : प्रत्येक वर्ष भाइटिकाको भोलीपल्ट प्यूठान नगरपालिकाको पूण्यखोला फाँटमा प्रदर्शन भइरहेको ऐतिहासिक डल्ले सरायँ दुई वर्षदेखि भएको छैन् । कोरोनाको कारण स्थानीय प्रशासनले ठूलो जमघटका मेला, प्रदर्शनहरु नगर्न भनेपछि डल्ले सरायँ पनि रोकिएको हो । यसवर्ष पनि सरायँ नाँच भएन् ।
उत्साहित भएर सरायँ प्रदर्शन गर्न पुग्नेहरु दुई वर्षदेखि निराश भएर घरमै थिए । तर, यसवर्ष गृह जिल्लास्थित पूण्यखोलामा सरायँ नाँच देखाउन नपाएपनि प्यूठान नगरपालिका वडा नम्वर ३ सापडाँडाका यूवाहरुले बुटवलमा पुगेर सरायँ नाँच देखाए । उनीहरु पहिलोपटक बुटवलमा आएर नाँच प्रदर्शन गरेका हुन् ।
सरायँ देखाउने बन्दोवस्तको व्यवस्था मिलाएको थियो प्यूठान–रुपन्देही सम्पर्क मंचले । बुटवलमा रहेका प्यूठानीहरुमाझ सरायँ नाँच देखाउन पाउँदा निकै उत्साहित भएको प्यूठान नगरपालिका ३ का स्थानीय सुरेन्द्र परियारले अनुभव सुनाए । ‘कोरोनाले प्यूठानमा सरायँ देखाउन पाएका थिएनौँ’,उनले भने,‘नयाँ ठाउँमा आएर सरायँ नाँच्न पाउँदा निकै खुसी लागेको छ ।’
उनले आफूले बुझ्दासम्म सरायँ नाँच प्रदर्शन भइरहेको सुनाए । स्थानीय बुढापाका अनुसार करिव २ सय ५० वर्षदेखि हरेक वर्ष तिहारमा सरायँ नाँच देखाउने गरिन्छ । सरायँका लागि प्यूठान नगरपालिका ३ सापडाँडाबाट ८ जनाको समूह आएको परियारले बताए । जिल्लाको पहिचानसँग जोडिएको डल्ले सरायँको थप प्रवद्र्धन गर्नका लागि बुटवलमा प्रदर्शनको आयोजना गरिएको प्यूठान–रुपन्देही सम्पर्क मंचका सचिव प्रदिप जिसीले जानकारी गराए । उनले गृह जिल्लामा पुग्न नपाएर सरायँ देख्न अवसर नमिलेकाहरुलाई बुटवलमा अवसर मिलाइएको समेत जानकारी गराए ।
बुटवलको देविनगरस्थित भूपु सैनिकको प्रांगढमामा सरायँसँगै भैलो नाँच पनि देखाइएको थियो । कार्यक्रममा लुम्विनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री एवं प्यूठानका सांसद् कृष्णध्वज खड्काको प्रमुख आतिथ्यता थियो । सरायँ र भैलो हेर्नका लागि बुटवलमा रहेका प्यूठानीहरुको बाक्लो उपस्थिती रहेको थियो । सम्पर्क मंचका अध्यक्ष श्याम पोखरेलले छरिएर रहेका प्यूठानीहरुबीच सद्भाव बढाउन मंचले यस्ता कार्यक्रम गरिरहेको जानकारी गराए ।
वँखै, वँखै गर्दै हातमा तरवार लिएर मैदानमा सरायँ नाच देखाउँदा उनीहरुलाई मोवाइलमा कैद गर्ने दर्शकहरुको घुइँचो थियो । करिव सातसय वर्ष अघिदेखि जाँट बंशीय राजाको राक्षसी स्वभाव विरुद्ध जनताले तरवार उठाएको घटानासँग सरायँनाच जोडिएको छ । विभिन्न क्षेत्रबाट तरबार लिएर आएका जनताले राजाको मृत्युवरण गरको सम्झनामा मौलो बनाएर हरेक वर्ष डल्ले सरायँ निकालिने गरिएको इतिहास छ ।