प्यूठान : झिमरुक गाउँपालिका प्यूठानले सार्वजनिक सुनुवाई गरेको छ । आइतबार गाउँपालिकाले आर्थिक वर्ष २०७७÷०७८ मा भए गरेका समग्र गतिविधिको बारेमा वार्षिक प्रगति तथा समिक्षा कार्यक्रम गरेको हो । पालिकामा गत आ.ब.को भौतिक तथा बित्तीय प्रगतिमा चालू खर्चमा ३१ करोड ४१ लाख २१ हजार १९४ विनियोजन भएकोमा खर्च २४ करोड ८६ लाख ६३ हजार ८१२ भएको थियो ।
यसको बित्तीय प्रगति प्रतिशत ८२.३५ र भौतिक प्रगति ८३.४७ प्रतिशत भएको प्रतिबेदनमा उल्लेख छ । कुल विनियोजित कुल बजेट ५० करोड ८४ लाख ७० हजार ४३२ मा खर्च ४३ करोड ८० लाख ६३ हजार ९ रुपैयाँ खर्च भएको गाउँपालिकाले जनाएको छ ।
खर्च प्रतिशतमा हेर्दा बित्तिय प्रगति ८६.१५ खर्च भएको छ भने भौतिक प्रगति ९१.२५ प्रतिशत छ । ३ सय ४७ घरमा जस्तापाता लगाइ खरको छाना बिस्थापन गरेको गाउँपालिकाले उपभोक्ता समिती मार्फत २२० योजना तथा कार्यक्रम र ठेक्का प्रक्रियाबाट २२ वटा योजना संचालन गरेको थियो ।
उपभोक्ता समिति मार्फत भएका योजनामा १४० योजनामा ३९७ जना महिला पुरुष मजदुरले रोजगार पाएको प्रतिवेदन छ । समयमै सबै रकम भुक्तानी भएको गाउँ पालिका तथा वडा कार्यालयको प्रशासनिक भवन ७ र ८ बाहेक सबै पूरा भइसकेको गाउँपालिकाले जनाएको छ ।
सार्वजनिक सुनुवाई कार्यक्रममा १३ हजार ८ सय ५१ मिटर नयाँ ट्रयाक सडक खोलिएको, ६ हजार १ सय ७५ मिटर मोटर बाटो स्तरोन्नती गरिएको जनाइएको छ । समिक्षा कार्यक्रममा पालिकाका जनप्रतिनिधि, राजनीतिक दल, विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधि लगायत सरोकारवालाबीच वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरि सार्वजनिक गरिएको थियो ।
गाउँपालिकाका विभिन्न गतिविधिमा उठेका विभिन्न सवाल प्रश्न तथा जिज्ञासाको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद भुसालले स्पष्ट पार्दै समग्र पालिकाको बिकास र समृद्धिको लागि सवैको सहकार्य एकता आवश्यक हरेको बताए । उनले गाउँपालिकाले जनस्तरमा काम गर्दा यूवा जनशक्तिको अभाव खड्किदै गएको अनुभव सुनाए । बेरुजु कम हुनेमा देशकै उत्कृष्ट गाउँपालिका बनाउनका लागि सवैको साथ र सहयोग रहेको उनले बताए ।
गाउँपालिका अध्यक्ष तिलक बहादुर जिसीले समग्र झिमरुकको समृद्धिका लागि काम गर्दै आएको बताए । उनले कतिपय विकास योजना निर्माण पुरा भएको र कतिपय योजना पुरा हुने क्रममा रहेका छन त्यो क्रमश पूरा हुने जानकारी गराए । कार्यक्रममा बोल्ने बक्ताहरुले गाउँपालिकामा बहुमूल्य जडीबुटीको खेतीमा गाउँपालिकाले प्रोत्साहन गर्न सुझाव दिएका छन् । बोधीचित्त, रुद्राक्ष, श्रीखण्ड लगाएत विरुवाहरुको व्यवसायिक खेतीमा गाउँपालिकाले किसानहरुलाई सहयोग गर्न उनीहरुले आग्रह गरेका छन् ।