झिमरुक (प्यूठान) : नजिकिँदो तिहारलाई लक्षित गरि झिमरुक गाउँपालिका प्यूठानले बजार अनुगमनलाई तिव्रता दिएको छ । अखाद्य र म्याद गुजे्रेका सामग्रीहरुको विक्रीलाई निरुत्साहित गर्ने उद्देश्यले उपभोक्ताको हितलाई ध्यानमा राख्दै बजार अनुगमनलाई तिव्रता दिइएको हो ।
गाउँपालिकाका मुख्य बजारहरु मच्छि, ढाड, बाङ्गेफेदि, सौतामारे, चुधाराफेदी लगाएत क्षेत्रमा अनुगमनको टोली पुगेर बजार, होटेल तथा उद्योग र पसलहरुमा अनुगमन गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद भुसालले जानकारी दिए । भुसालको नेतृत्वमा इलाका प्रहरी कार्यालय मच्छि, उद्योग वाणिज्य संघ मच्छी बजार इलाका प्रतिनिधि, पत्रकार, जनप्रतिनिधि र कर्मचारीहरु अनुगमनमा खटिएका थिए । खाद्य वस्तुको विक्री वितरण तथा गुणस्तर र म्याद भए नभएको बारेमा सुक्ष्म निगरानी गरिएको छ ।
अनुगमन टोलीले कतिपय पसलहरुमा म्याद गुज्रेका सामग्रीहरु भेटिएकाले सामग्रीलाई जफत गरी नष्ट गरेको छ । तिहार नजिकै आएकाले खाने तेल, मैदा लगायतका खाद्यवस्तुको बिक्री वितरण बजारमा बढेको पाइएको छ । बजार अनुगमनको क्रममा करिब २४ हजार रुपैयाँ बराबरको म्याद सकिएका खाद्य बस्तु जफत गरिएको गाउँपालिका लेखा अधिकृत पिताम्वर मरासिनीले जानकारी दिए ।
जिल्लामा अखाद्य वस्तु विक्री वितरण गर्ने कुनै पनि व्यापारीलाई हालसम्म कारवाहीको दायरामा ल्याउन नसक्नुको कारण अखाद्य वस्तु विक्रीमा व्यवसायीलाई हौसमला मिलेको अनुगमन टोलीको निष्कर्ष छ । गाउँपालिकाले बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ । चाडपर्वमा धेरै कारोवार हुने फेन्सी लगाएतका कपडाहरुमा समेत अनुगमन गर्न गाउँबासीहरुले अनुगमन टोलीलाई सुझाव दिएका छन् ।