प्यूठान : नेपाली कांग्रेसको गाउँ नगरका अधिवेशन सकिएको छ । अधिवेशनले प्यूठानका ९ वटै स्थानीय तहमा नेतृत्व चुनेको छ । १४ औं अधिवेशनको संघारमा रहेको कांग्रेस अव क्षेत्रिय र जिल्लाको नेतृत्व चुन्ने दौडमा छ । गाउँ नगरमा चुनिएका अधिकांश सभापती सहित कार्यसमितिमा अधिकांश यूवाहरु आएका छन् । मुल नेतृत्वमा महिलाको सहभागीता शुन्य छ । कांग्रेसमा महिलाहरु नभएका हुन् वा अवसर नदिइएको हो ? टिप्पणी हुन थालेको छ ।
लक्ष्मण जिसी (सरुमारानी)
सरुमारानी गाउँपालिकामा लक्ष्मण जिसीको नेतृत्वमा गाउँपालिका स्तरीय समिति निर्वाचित भएको छ । पार्टीको १२ औं महाधिवेशनमा क्रियाशील सदस्यता पाएका जिसी कांग्रेस निकट शिक्षक संगठन गठन भएदेखि नै संगठनको सदस्य छन् । उनी जिल्ला पदाधिकारी तहको जिम्मेवारी सम्हाल्दै आएका थिए । उनले पार्टीको ९ औँ महाधिवेशन देखि १३ औं महाधिवेशनसम्म निर्वाचन समितिमा रहेर पनि जिम्मेवारी पूरा गरे । १३ औं महाधिवेशनमा क्षेत्रिय निर्वाचन अधिकृत, जिल्ला निर्वाचन मतदान अधिकृत भएको उनमा अनुभव छ । उनी केन्द्रमा प्रधाध्यापक गोविन्दराज पोखरेल र जिल्लामा शिव रिजाल निकटका हुन् । ६३ वर्षीय जिसी सरस्वती मावि हंस्पुरका पूर्व प्रधानाध्यापक समेत हुन् ।
देवीराम पुन (नौवहिनी)
नौवहिनी गाउँपालिकामा सभापतीमा निर्वाचित देवीराम पुन कांग्रेसका पुराना नेता हुन् । उनले वि.सं २०५० सालमा पार्टीको क्रियाशील सदस्यता लिएका थिए । २०४७ सालमा इकाई सभापती भए । पुन २०४९ सालको स्थानीय निकाय निर्वाचनमा तत्कालिन फोप्ली गाविसको अध्यक्षमा निर्वाचित भएर जनताको सेवा गरे । १० औं देखि १३ औं महाधिवेशनसम्म उनी पार्टीको केन्द्रिय प्रतिनिधि भएका थिए । २०७० सालको संविधान सभा निर्वाचनमा उनी समानुपातिक सांसदको उम्मेदवार पनि भए । हाल नेपाल राष्ट्रिय मगर संघको केन्द्रिय छन् । ६३ वर्षीय पुनले पार्टीको जिल्ला नेतृत्वमा शिव रिजालको नेतृत्वलाई साथ दिने खुलासा गरेका छन् ।
रमेश कुमार श्रेष्ठ (मल्लरानी)
रमेश कुमार श्रेष्ठ मल्लरानी गाउँपालिका खलंगाको कांग्रेस पार्टी सभापतीमा निर्वाचित भएका छन् । २०६२ सालमा कांग्रेसको क्रियाशील सदस्यता पाएका उनले २०५६ सालमा महेन्द्र बहुमुखी क्याम्पस खलंगाको इकाइमा रहेर संगठित भए । २०७५ सालमा मनोनित कांग्रेसको जिल्ला कार्यसमिति सदस्य भए । उनमा जिल्लाको सामाजिक संस्थाको नेतृत्वमा रहेर काम गरेको अनुभव छ । गैर सरकारी संस्था महासंघ प्यूठानको अध्यक्ष, मल्लरानी ग्रामीण विकास सरोकार केन्द्र खलंगामा दुई कार्यकाल सचिवको रूपमा उनले भूमिका निर्वाह गरे । ४४ वर्षिय श्रेष्ठले जिल्ला नेतृत्वमा विष्णु कुमार गिरीको प्यानललाई साथ दिने प्रतिक्रिया दिएका छन् ।
गिर बहादुर घर्ती (स्वर्गद्धारी)
स्वर्गद्धारी नगरपालिकामा २७ वर्षिय गिर बहादुर घर्ती सभापतीमा निर्वाचित भएका छन् । पढ्दा नेपाल रेडक्रस र विभिन्न सामाजिक संघ संगठनमा आवद्ध भएर काम गर्दै पार्टीमा प्रवेश गरेका घर्ती २०६८ सालमा पार्टीको क्रियाशिल सदस्यता पाए । उनी २०६७ सालमा अमंर मावी भिंगृमा नेविसघंको इकाई सभापती भए । २०६९ मा नेविसंघकै जिल्ला सदस्य र २०७१ मा क्षेत्रिय अध्यक्ष भए । २०७४ को स्थानीय तहको निर्वाचनमा स्वर्गद्वारी नगरपालिका वडा नम्वर ५ मा उनी वडा अध्यक्षको प्रत्यासी थिए । हाल उनी नेविसंघको जिल्ला उपाध्यक्ष पदमा छन् । डाक्टर गोविन्दराज पोखरेलको विश्वासको पात्रको रुपमा उनलाई धेरैले चित्रण गर्छन् । उनी जिल्लामा अमर भण्डारी र विष्णु गिरीको खेमामा छन् ।
नेत्र बहादुर केसी (प्यूठान नगरपालिका)
३९ वर्षीय नेत्र बहादुर केसी विजुवार पूण्यखोला निवासी हुन् । उनी प्यूठान नगरपालिका वडा नम्वर ७ को वडा अध्यक्ष समेत हुन् । केसीले नेपाली कांग्रेसको २०५८ सालमा क्रियाशील सदस्य पाएका थिए । उनले पार्टीको वडा नं ७ र ८ को इकाई सभापतीमा रहेर पनि काम गरे । २०६४ सालमा स्वर्गद्वारी यातायात व्यवसायी समितिको जिल्ला सदस्यमा रहेर पनि काम गरे । उनी जिल्लामा पार्टीका पूर्व सभापती सुवास केसी र हालका जिल्ला सचिव देवेन्द्र बर्मा निकटका हुन् ।
अमर रेश्मीमगर (ऐरावती)
२०७५ सालमा कांग्रेसको पार्टी सदस्यता पाएका अमर रेश्मीमगर ऐरावती गाउँपालिकाको पार्टी सभापतीमा निर्वाचित भएका छन् । उनी कांग्रेस बनेको धेरै भएको छैन् । २०७६ सालको स्थानीय तहको उप निर्वाचनमा उनी तत्कालिन समयमा माओवादी छाडेर कांग्रेसमा प्रवेश गरेका थिए । उप निर्वाचनमा वडा नं १ वडा अध्यक्षमा उमेदवार बनेका उनी ९ मतले पराजय भए । जिल्लाका अन्य संघ संस्था र कार्यालयमा उनले लामो अनुभव बटुलेका छन् । उनले २०६९ देखि २०७५ सम्म युवा तथा साना व्यवसायी स्वरोजगार कोषको जिल्ला फोकल पर्सनको रूपमा काम गरे । ३४ वर्षीय मगर डाक्टर गोविन्दराज पोखरेल खेमाका हुन् ।
मधुराम केसी (गौमुखी)
सानैदेखि कांग्रेसमा लागेका ३१ वर्षिय मधुराम केसी गौमुखी गाउँपालिकाको कांग्रेस सभापतीमा निर्वाचित भए । उनले पार्टीको १२ औं महाअधिवेशनमा क्रियाशील सदस्यता लिएका थिए । गौमुखी माध्यमिक विद्यालय ठूलावेसीमा रेडक्रस इकाईबाट राजनीतिको उनले शुरुवात गरेका हुन् । पार्टीको १२ औं अधिवेशनबाट वडाको ईकाई सभापती भए । १३ औं अधिवेशनबाट क्षेत्रिय सदस्य, तरुण दल प्यूठानको जिल्ला सदस्य चुनिए । उनी गाउँपालिका सभापतीमा ९९ मत खसेकोमा ७७ मत लिएर विजयी भए । ४ मत बदर भयो । उनका प्रतिस्पर्धी गोविन्द बुढाले १८ मत मात्र लिए । उनी विष्णु कुमार गिरीलाई जिल्लाको पार्टी सभापती बनाउनुपर्छ भन्ने दौडमा छन् ।
प्रकाश अधिकारी (माण्डवी)
कांग्रेसको माण्डवी गाउँपालिका पार्टी सभापतीमा प्रकाश अधिकारी निर्वाचित भएका छन् । ३१ वर्षिाय अधिकारीले पार्टीको १३ औं महाधिवेशनमा क्रियाशील सदस्यता लिएका थिए । उनले महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्ज इकाईमा रहेर पनि काम गरे । नयाँगाउँको पार्टी इकाई सचिव, गाउँपालिका स्तरीय पार्टी सचिव र वीपी कोइराला जिल्ला फाउन्डेशन जिल्ला कार्यसमितिमा रहेर काम गरे । उनी डाक्टर गोविन्दराज पोखरेल खेमाका हुन् ।
मिनराज भट्टराई (झिमरुक)
झिमरुक गाउँपालिकाको कांग्रेस पार्टी सभापतीमा मच्छिका स्थानीय मिनराज भट्टराई निर्वाचित भएका छन् । उनले २०५७ सालमा पार्टीको क्रियाशील सदस्यता लिएका हुन् । २०५० सालमा गंगा मावि बाहानेको इकाई सभापतीको रुपमा उनले काम गरे । त्यस्तै, २०५३ मा स्वर्गद्वारी बहुमुखी क्याम्पस इकाई सभापतीको रुपमा समेत उनले जिम्मेवारी पुरा गरे । २०५५ मा उनी स्ववियु सभापतीमा ९ मतले पराजय भए । २०५७ सालमा स्ववियु सचिवमा उनी निर्वाचित भए । ४२ वर्षिय भट्टराई गाउँपालिका उपसभापती हुँदै तरुण विभाग लुम्बिनी प्रदेस सदस्यको जिम्मेवारीमा छन् ।