प्यूठान : राष्ट्रिय पूँजी निर्माणमा स्वदेशी उद्योगी व्यवसायीको भूमिका महत्वपूर्ण हुने लुम्बिनी प्रदेश सभा सदस्य एवं पूर्व ग्रामीण तथा शहरी विकास मन्त्री हरि प्रसाद रिजालले बताएका छन् । शनिबार बिजुवार स्थित एमाले पार्टी कार्यालयमा आयोजित राष्ट्रिय उद्योग व्यवसाय महासंघ प्यूठानको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्दै रिजालले भने, ‘दलाल पुँजीवादलाई विस्थापित गर्दै आत्मनिर्भर सहितको पूँजीको विकासमा लाग्न जरुरी छ ।’ जिल्लालाई पर्यटन उद्योगसंग जोड्न उनले उद्योगी व्यवसायीलाई आग्रह गरे ।
‘प्यूठानमा औद्योगिक सम्भाव्यताको अध्ययन हुनपर्छ’, उनले भने, ‘यहाँको प्राकृतिक सौन्दर्यता, स्वर्गद्धारी, खनिज तथा कच्चा पदार्थको बजारिकरण हुन सकेमा जिल्लाले आर्थिक क्षेत्रमा फड्को मार्न समय लाग्दैन ।’ भेलामा विशिष्ट अतिथि रहेका महासंघका लुम्बिनी प्रदेश संयोजक माधव प्रसाद नेपालले उद्योगी व्यवसायीको हक हित तथा संरक्षणमा महासंघले काम गर्ने बताए । व्यवसायीको क्षमतामा अभिवृद्धि गर्दै एउटै छाता संगठनमा गोलबन्द गर्ने गरि महासंघ लागिपरेको उनले सुनाए । प्रतिकूल परिस्थितिमा पार्टीलाई थप बलियो बनाउन उद्योगी व्यवसायीको भूमिका थप सशक्त बनाउनुपर्ने बेला आएको नेपालले बताए ।
एमालेका २२ जनवर्गीय संगठन मध्ये सबैभन्दा कान्छो भातृ संगठन महासंघ रहेको सह संयोजक भाष्कर काफ्लेले बताए । ‘हामी सिर्जनशील शक्ति हौं’ काफ्लेले भने, ‘हामी पार्टीको मूलधारमा प्रतिनिधित्व गर्नसक्ने हैसियत बनाउँदै अघि बढ्नुपर्ने छ।’ जिल्ला महासंघले जिल्लाभर पार्टीमा आस्था राख्ने, पार्टीलाई मायाँ गर्ने शुभचिन्तक उद्योगी व्यवसायीलाई पहिलो प्राथमिकतामा राख्दै गोलबन्द गर्न जिल्ला पार्टी अध्यक्ष तुल्सीराम शर्माले जोड दिए ।
थापाको नेतृत्वमा जिल्ला कार्यसमिति
महासंघको प्रदेश समितिले यसअघि नै जिल्ला इन्चार्जमा माधवराज भण्डारी तथा अध्यक्षमा गन्ज बहादुर थापालाई चयन गरेको थियो । शनिबारको भेलाले ५५ सदस्यीय जिल्ला कमिटीलाई पूर्णता दिएको छ । जिल्ला महासंघको उपाध्यक्षमा प्रशुजता अधिकारी जिसी, पशुपति श्रेष्ठ र सचिवमा सन्देश आचार्य चुनिएका छन् । कोषाध्यक्ष पद महासंघको प्रथम बैठकले टुंगो लगाउने सचिव आचार्यले जानकारी दिए । प्यूठानका ९ वटै पालिकामा संगठन विस्तार गरिने महासंघले जनाएको छ ।