प्यूठान : प्यूठानको माण्डवी गाउँपालिका वडा नम्वर २ बाट निर्वाचित वडा अध्यक्ष तुल बहादुर थापा नेकपा एमालेमा प्रवेश गरेका छन् । उनी गत स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनी सहित दुई जना वडा सदस्य (महिला) र नेपाली कांग्रेसमा आबद्ध ३ सय ५० जना एमालेमा प्रवेश गरेको एमालेका यूवा नेता एवं माण्डवी गाउँपालिका अध्यक्ष श्रीधर रोका मगरले जानकारी दिए ।
एमालेको नीति सिद्धान्त तथा विचारलाई आत्मसाथ गर्दै माण्डवी गाउँपालिका भरी करिब १ हजारको हाराहारीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाबाट पार्टी छाडेर एमालेमा आएको गाउँपालिकाका पार्टी इन्चार्ज माधव पौडेलले जानकारी गराए । पालिकामा रहेका ५ वटै वडामा वडा कमिटी गठन÷पुनर्गठन तथा भेला गर्दै सबै कमिटीहरुलाई अधिवेशन आयोजक कमिटीमा रूपान्तरण गरिएको उनको भनाई छ । माण्डवी गाउँपालिका वडा नम्वर ५ मा स्थानीय तहकै निर्वाचनमा एमालेका वडा अध्यक्षका उम्मेदवारसंग ३० मतले पराजय भएका राष्ट्रिय जनमोर्चाका उम्मेदवार कमल खड्का नेतृत्वको समूह पनि एमालेमा आएको पौडेलले बताए ।
नेपाली कांग्रेसको वडा पार्टी सभापति सहित नयाँगाउँमा राजमो तथा माओवादीका करिब ३ सयको हाराहारीमा एमालेमा प्रवेश गरेको पार्टी संयोजक यम बहादुर घिमिरेले बताए । वडा नं ४ उदयपुरकोट तथा तिरामबाट करिब २ सयको संख्यामा माओवादी पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेको उनको भनाई छ ।
‘हाम्रो गाउँपालिकामा पार्टी विभाजनको कुनै असर छैन’,घिमिरेले भने, ‘पार्टीलाई पुरानो स्थितिबाट थप सशक्त तथा मजबुत बनाएका छौं ।’ स्थानीय तहको निर्वाचनमा माण्डवीमा एमालेले १ हजार ७ सय ५३ भोट ल्याउँदै माण्डवी गाउँपालिका एमालेले जितेको थियो । अबको निर्वाचनमा गाउँपालिकामा ३ हजार ५ सय मत सुरक्षित गर्ने गरी लागिपरेको सह इन्चार्ज एवं गाउँपालिका अध्यक्ष रोकाले बताए ।
आइतबार गाउँपालिका स्तरीय भेलाबाट १ सय १ सदस्यीय पालिका अधिवेशन आयोजक कमिटीमा रूपान्तरण गरिएको उनले जानकारी गराए । भेलालाई एमाले प्यूठानका अध्यक्ष तुल्सीराम शर्मा सहित जिल्ला नेताहरुले सम्बोधन गरेका थिए । गाउँपालिकाले जनभावना बमोजिम काम गर्दै गएकाले पनि पार्टीमा थप आकर्षण बढेको पार्टी अध्यक्ष तुल्सीराम शर्माले सुनाए । ‘स्थानीय सरकारका जनप्रिय कामहरूको बारेमा पार्टीले जनतालाई थाँहा दिन जरुरी छ’, शर्माले भेलालाई सम्बोधन गर्दै भने, ‘हामी नीति सिद्धान्त तथा वैचारिक तवरले ठीक ठाउँमा छौं, पार्टी विभाजनको प्रभाव जिल्ला भरीमा नगन्य छ ।’