प्रोफाइल स्टोरी
सरुमारानी गाउँपालिका–२ दरभान बाङ्गेसाल प्यूठानका झबिन्द्र शर्मा २०६० सालको एसएलसीपछि सदरमुकाम खलंगामा क्याम्पस पढ्न गए । घरका जेठा छोरा उनीसँगै भाई अर्जुन र बहिनी राधा पनि पढ्नकै लागि आए । बहिनी र भाइको पढाइसँगै उनीहरुलाई सही बाटोमा डो¥याउने र घरको सवै जिम्मेवारी उनकै काँधमा थियो । उनी सामान्य परिवारका हुन् । सानैदेखि सवैसँग घुलमिल हुने र मिठास स्वभावका थिए ।
पढ्नकै लागि सदरमुकाम आएका शर्मालाई पढाइसँगै घरको जिम्मेवारी सम्हाल्नु चुनौती नै थियो । खलंगामा पढाइसँगै जागिर गर्ने सोँच बनाए । उनी जिल्ला निर्वाचन कार्यालयमा अस्थायी जागिरको रुपमा प्रवेश गरे । यहीबाट उनको जागिरे जीवनको यात्रा शुरु भयो । साढे तीन वर्ष उनी निर्वाचनमा जागिरे जीवन विताए । यत्तिमात्र होइन्, उनले केहि समय खलंगामै बोर्डिङ स्कुलमा पढाए । निर्वाचनको जागिर छाडेर शर्मा २०६५ सालमा प्यूठानी व्यवसायीहरुको सवैभन्दा ठूलो व्यसायिक संस्था प्यूठान उद्योग वाणिज्य संघमा कार्यालय सचिवको रुपमा काम गर्न थाले । उनको यो दोस्रो जागिरे यात्रा हो । कार्यालय सचिवबाट पदोन्नती भएर उनी संघकै कार्यकारी निर्देशक भए ।
१० वर्षसम्म कार्यकारी निर्देशकको रुपमा काम गरे । दशकसम्म प्यूठान उद्योग वाणिज्य संघमा काम गर्दा उनको चिनजान सानादेखि ठूला घरनाका उद्योगी व्यवसायीसँग भयो । उद्योगी व्यवसायीहरुसँग उनले सम्वन्ध चिनजानमा मात्र सिमित राख्न चाहेनन् । उनीहरुको संघर्ष र सफलतालाई पनि सिरोधार्य गरे । त्यसबाट अलिकती भएपनि पाठ सिक्ने उनले कौतुहलता राख्ने ।
त्यसपछि उनको मनमा कुरा खेल्न थाल्यो । सँधै कति जागिरे जीवन मात्र विताइराख्नु । केही गर्नु छ भने व्यवसायमा हात हाल्नै पर्छ । जागिरे जीवनबाट उनको जीवनशैली त राम्रै चलेको थियो । तर, सोँचे अनुसार प्रगती गर्न सकिरहेका थिएनन् । नेपाली समाजमा अझैपनि प्रगती त्यसलाई मानिदो रहेछ, जसले पक्की घर बनायो, गाडी चढ्यो र राम्रो व्यवसाय ग¥यो ।
समाजको त्यही अपेक्षा पुरा गर्ने दौडमा शर्मा पनि थिए । जो व्यवसायबाट हात लाग्यो । व्यापार व्यवसायमा लगानी गर्नुपूर्व शर्माले आफ्ना साथीसँगी र आफन्तसँग सल्लाह सुझाव मागेका थिए । ‘धेरैजसोले व्यवसाय डुब्न पनि सक्छ, लगानी नगर्नुस् पनि भन्ने गरे’,शर्मा विगत सम्झदै भन्छन्,‘तर, कतिपयले व्यवसाय गर्न हौसला दिए, हौसला दिनेहरुकै उपज हो जो, आज म यो ठाउँमा छु ।’
संघर्षशिल झविन्द्र अहिले जिल्लामा सफल यूवा व्यवसायीको रुपमा आफ्नो पहिचान बनाएका छन् । सफल व्यवसायी बन्ने आशा गरेका जो कोहीका लागि उनी उदाहरणीय पात्र हुन् ।
शर्मालाई नीजामती सेवामा प्रवेश गर्ने की व्यवसाय शुरु गर्ने दुई कुरा मनमा खेलेको थियो । व्यापार व्यवसायबाट सामाजिक क्षेत्रमा काम गर्ने र खुसी जीवन विताउन सकिने देखेका उनको धेरै लगाव भने व्यवसायमै थियो । व्यवसायमै लाग्ने निधोसँगै उनले २०६८ साल भदौ २० गते (दश वर्ष अघि आजकै दिन) सदरमुकाम खलंगामा फर्निसिङ डेकोर होम संचालन गरे । ग्राहकले सामान अर्डर गरेपछि ढिलागरि मात्र पाउने परम्परा तोड्नकै लागि उनले रेडिमेड फर्निचरका सामानहरूको साथमा घरमा लगाउने कलरहरु पनि विक्री गर्न थाले । व्यवसाय शुरु गर्दा उनको साथमा नगद २५ हजार रुपैयाँ मात्र थियो ।
विगत सम्झँदै शर्मा भन्छन्, ‘२५ हजार पैसाले मैले उधारोमा लोक बहादुर बस्नेत दाईसँग १ लाख २५ हजार बराबरको समान लगेर व्यवसाय शुरु गरेको हुँ ।’ बस्नेतलाई उनी आफ्नो व्यवसायको शुरुवाती मार्गदर्शक ठान्छन् । व्यवसायले राम्रै बजार लिन थालेपछि उनले त्यसलाई फराकिलो बनाउँदै लगे । फर्निसिङका समान थप्दै गए ।
गाउँ गाउँमा स्थानीय सरकार स्थापनासँगै उनका ग्राहकहरु बढ्दै गए । सरकारी क्षेत्रमा काम गर्ने अवसर पाए । ‘मलाई यहाँसम्म पुर्याउन मेरो भाईसंगै परिवारको ठूलो साथ छ’ उनी भन्छन्,‘व्यापारमा सफल हुन लगनशीलता, मेहेनत, नियमित र विश्वास दिलाउ सक्नुपर्दो रहेछ ।’ २०७० सालमा खलंगासँगै जिल्लाको प्रमुख व्यवसायिक केन्द्र बिजुवारस्थित भौँकामा उनले राज डेकोर होमकै शाखा विस्तार गरे । खलंगाबाट बिजुवार झरेपछि उनको व्यवसायले थप उचाई लिँदै गयो । हजारबाट व्यवसाय थालेका शर्मा अहिले करोडको मालिक छन् । डेरामा बसेर जागिरसँगै अध्ययन गरेका र परिवारलाई खुसी बनाउने उनको चाहना अहिले पुरा भएको छ ।
उनको व्यवसायमा अहिले चार जनाले रोजगार पाएका छन् । आफू मात्र होइन्, पूर्व सहकर्मीलाई समेत सफल व्यवसायी बनाउन मद्दत गरेका छन् । सहकर्मीहरुले अहिले रोल्पा र दाङमा व्यवसाय गरिरहेका छन् । यती कार्पेट, एभरेष्ट स्टिल फर्निचर, भिवोन कुर्सी (सिंगापुरे) रोयल कुर्सीको लागि प्यूठानमा आधिकारिक विक्रेताका रूपमा उनले ग्राहकलाई सेवा दिँदै आएका छन् । फर्निचर तथा फर्निशिङका सामानहरू होलसेल फूटकर बिक्री गर्ने गरिएको उनले सुनाए ।
व्यवसायसंगै शर्मा सामाजिक क्षेत्रमा पनि उत्तिकै क्रियाशील छन् । सामाजिक क्षेत्रमा लाग्ने प्रेरणा उनमा प्यूठान उद्योग वाणिज्य संघमा काम गर्दा जागेको थियो । उनी अहिले प्यूठान उद्योग वाणिज्य संघको एशोसियट सदस्य, लायन्स क्लव प्यूठानको सचिव तथा विभिन्न सामाजिक संघ संस्थामा क्रियाशील छन् । उनले मानव अधिकारको क्षेत्रमा क्रियाशिल एम्नेष्टी इन्टरनेश्नल नेपाल, समूह ३६ प्यूठानको संयोजक भएर पनि भूमिका निर्वाह गरे ।
‘जिन्दगीमा सवैका आरोह अवरोह हुन्छन्’,शर्मा भन्छन्,‘यही अवरोहबाट पनि मैले केही पाठ सिके । आफू मात्र होइन्, सामाजिक भावनाको सोँच पनि हुनुपर्छ जस्तो लाग्छ ।’ संघर्षशिल झविन्द्र अहिले जिल्लामा सफल यूवा व्यवसायीको रुपमा आफ्नो पहिचान बनाएका छन् । सफल व्यवसायी बन्ने आशा गरेका जो कोहीका लागि उनी उदाहरणीय पात्र हुन् ।
दशक पुगेको खुसीयालीमा कोषमा सहयोग
शर्माले आइतवार आफ्नो व्यवसायको एक दशक पुगेको खुसीयालीमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानको पत्रकार कल्याणकारी कोषमा सहयोग स्वरुप २५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेका छन् । उनले उक्त रकमको चेक विजुवारमा कार्यक्रमको आयोजना गरि शाखाका अध्यक्ष सञ्जय रिजाललाई हस्तान्तरण गरे । व्यवसायको अनवरत यात्राको क्रममा सामाजिक क्षेत्रमा लगानी गर्ने सोँच रहेको ३३ वर्षिय शर्माले सुनाएका छन् ।