प्यूठान : नौवहिनी गाउँपालिका ५ डाम्री प्यूठानका पहिरोपीडितहरु गाउँपालिकाले उद्दार गर्ने पर्खाइमा कुरिरहेका छन् । उनीहरुले आफूहरुको पीडामा साथ दिन गाउँपालिका सरकारलाई आग्रह गरेका हुन् । भदौ २ गतेदेखि परेको वर्षाका कारण स्थानीय ठूलो डाम्री, सानो डाम्री लगायत आधा दर्जन गाउँबस्तीका स्थानीयहरु पहिरोको जोखिममा परेका छन् । अहिलेसम्म ५ घरपरिवार पहिरोको कारण विस्थापित भइसकेको वडा अध्यक्ष अनबहादुर घर्तीले जानकारी दिए । विकट, भिरालो तथा कमजोर भूगोल, बर्खायाममा जताततै पानी उम्रने हुँदा पहिरोको जोखिम भएको उनले सुनाए ।
‘विस्थापित परिवार आफ्नो आफन्त तथा गोठमा बस्दै आएका छन्’,वडा अध्यक्ष घर्तीले भने, आजको पोष्टसँग भने,‘हामीले तत्कालै केहि गर्न सकेको छैनौं, सुरक्षित भएर बस्न अनुरोध मात्र गरेका छौं ।’ उनले वडा तहबाट गर्नसकिने अवस्था नभएकाले गाउँपालिकामा हारगुहार गरेको बताए । वडा नं ५ मै करिब ५०÷६० घर अहिलेपनि पहिरोको उच्च जोखिममा रहेको उनले जानकारी गराए ।
‘गाउँपालिकालाई वस्तुस्थितिबारे खबर गरेका छौं’,घर्तीले भने, ‘केही दिनमै आउने आश्वासन पाएका छौं ।’ बस्तिको माथिल्लो भाग चर्किने÷फाट्ने र तलबाट पहिरो बग्ने÷तान्ने क्रम चलिरहेको स्थानीयहरु बताउँछन् । ठूलो डाम्रीका तकमान सुनारको घर नै भत्किएको छ। ४ जना परिवार भएको सुनार परिवार आफ्नै नजिकै रहेको गोठमा बस्दै आएको बताए । ‘पहिरोले घर लग्यो’,सुनारले भने, ‘हामीलाई गाउँपालिकाको साथ चाहिएको छ ।’
ठूलो डाम्रीकै धनजीता थापाको पनि कथा उस्तै छ । ‘घरको आँगन नै पहिरोले लग्यो, अब घर लग्न बाँकी छ’,थापाले भनिन्, ‘चार जना परिवार छिमेकिकोमा बस्दै आएका छौं ।’ अहिलेसम्म कतैबाट केहि राहत नपाएको उनले सुनाईन् ।
गाउँकै घने सुनार घर नजिकै चिरा–चिरा परि जमीन फाट्दा घरनै छोडेको बताए । सात जनाको परिवार छुट्टिएको दाजुभाइको घरमा आश्रय लिएर बसेको उनले सुनाए । दुई हप्ता हुनै लाग्दा समेत सरकारी मान्छे नआएको उनको गुनासो छ । ‘घरबारविहीन भईयो’,सुनारले दुःखेसो पोख्दै भने, ‘चुनावमा नेता खुप आए अहिले दुःख पर्दा देखियो, बुझियो ।’ पहिरो सर्दैसर्दै घरतर्फ आईरहेको उनले बताए ।
ठूलो डाम्रीमा ३० घर, सानो डाम्रीमा १५ घर, बसाईमा ८ घर र काँटेमा ८ घर पहिरोको जोखिम भित्र पर्ने वडा नं ५ को कार्यालयले जनाएको छ । पहिरोको कारण गाउँको नेरा मावि समेत बन्द रहेको विद्यालयले जनाएको छ । गाउँपालिका अध्यक्ष शिव रिजाल भने आसन्न नेपाली कांग्रेसको १४ औं जिल्ला अधिवेशनमा जिल्ला सभापतिमा उठ्ने र विजय गराउन अनुरोध गर्दै पार्टीको भेला तथा प्रचारका समय दिएको तर नजिकै रहेको डाम्रीमा पुग्न नसकेको भन्दै स्थानीयहरुले गुनासो गरेका छन् ।