प्यूठान : समथर भुमी, वरीपरी हरियाली । मनमोहक छ झिमरुक फाँट । प्यूठान भित्रिने जो कोहीको पनि चेरनेटा बाटा ओरालो झरेपछि पहिलो नजर यही फाँटमा पर्छ । भालुवाङ–प्यूठानबाट पहाडै पहाडको बाटो भएर हिड्नेहरु यहाको दृश्य हेरेरै लोभिन्छन । तर, हिजोआज कि त घर हुन । या घर बन्न नपाएका घडेरी । जग्गा जती पल्टिङले खाएपछी कंक्रिटको जंगलको रूपमा बदलिन थालेको छ । झिमरुक फाँटमा अहिले वाक्लो बस्ती बसेको छ । पहेलपुर धान फल्ने खेतहरु घरै घरले भरिन थालेका छन । शहरीकरण बढ्दो छ । स्थानीयका अनुसार यहि फाँटमा बर्षेनी दुइ सय भन्दा बढी नयाँ घर थपिने गरेका छन् ।
घर घडेरी मात्रै होइन, वर्षेनी झिमरुक नदीको बाढीले कटान गर्दा फाँटको क्षेत्रफल निकै घटेको छ । लहलह धान झुल्ने झिमरुक फाँट सात आठ वर्ष भयो घरघडेरी निर्माण र कटानको दोहोरो चपेटामा छ । प्यूठान नगरपालिका कृषि बिभागका बाली संरक्षण अधिकृत तेज बहादुर बिष्टका अनुसार झिमरुक फाँटको ३ सय ५० हेक्टर क्षेत्रफल जमिन घडेरीको रूपमा प्रयोग भइसकेको छ ।
‘झिमरुकको बाढीले समेत वर्षेनी खेत कटान गर्दै आएको छ’, उनी भन्छन, ‘जोगिएको फाँटमा घर बन्ने क्रम बढ्दो छ । रोकिएको छैन । फाँट मासिँदा बर्षेनी खाद्यान्न उत्पादन घट्दै गएको छ ।’ वार्षिक २०/२५ हेक्टर खेतीयोग्य जमिन घडेरीमा परिणत गरेको छ । शिक्षा, स्वास्थ्य लगाएतका आधारभूत कुराको अभावमा गाउँबाट मानिस शहरी क्षेत्रमा झर्दा बस्ती बढेको हो । यसरी खेतीयोग्य भूमिमा बस्ती बिस्तार गरिएपछि बाह्रैमास सिंचाइ सुविधा भएको समथर झिमरुक फाँटको खेत मासिँदै गएको हो ।
बाग्दुला, दम्ती खप्रेङखोला, बिजुवार, टिकुरी, पुण्यखोला, रातमाटा, दाखाक्वाडी जाताततैबाट ‘छोटे’ बाटाहरू खोलिएका छन । खेतमा बनाईएका घर घडेरीमा धमाधम नयाँ घर बनाइँदैछ । यो क्रम रोकिएको छैन । राज्यको भू–उपयोग नीति स्पष्ट नहुँदा हरियाली फाँट मासिन थालेको वर्षौ हुन थाल्यो । तर, झिमरुक फाँट बचाउने कसले ? सरोकारवाला निकायलाइ सर्वसाधरणले प्रश्न तेर्साएका छन् ।
कार्यान्वयन फितलो
झिमरुक फाँट जोगाउने कुरा धेरैपटक भए, योजना पनि बनाईए । तर, प्लटिङ रोकेर भूमिको सही उपयोग गर्ने नीति जिल्लाले बनाउन सकेको छैन । यसअघि जिल्ला विकास समितिले उर्भर भूमि झिमरुक फाँटमा प्लटिङ गर्न रोक लगाउने निर्णय गरेको वर्षौं भइसकेको छ । प्यूठान नगरपालिकाको पहिलो नगर परिषद्ले समेत भिमरुक फाँटमा प्लटिङ गर्न रोक लगाउने निर्णय गरेको छ । तर, कार्यान्वयन पाटो फितलो छ । नगरपालिकाले पाँच बर्षे आवधिक नगर बिकास योजना बनाएर कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा समेत राखेको छ । तर, नगरपालिकाले कार्यान्वयनलाइ कडाइका साथ लैजान सकेको छैन् ।
नगरपालिकाको बिजुवार टारी, खलंगा पाण्डेडाँडा, थापाडाँडा, विजयनगर, सापडाँडा, रातामाटा, दाखाक्वाडी क्षेत्रमा बस्ती बसाउने, झिमरुक क्वाडेकुलोभन्दा तल बस्ती बसाल्न नपाइने नीति पास गरेको छ । बनेका सडकहरूको लगत लिने, सडक सार्वजनिक गरेर मात्र जमिनको कित्ताकाट गरेर घर घडेरी बिक्री गर्ने निर्णय नगरको छ ।
तर, यो सवै कागजमै सिमित छन् । जुम्रिका स्थानीय व्यवसायी लोक बहादुर बस्नेतले झिमरुक फाँटमा कृषि सम्बन्धी उद्यम सञ्चालन गर्नसके जिल्लाको अर्थतन्त्र बलियो बनाउन सकिने धारणा राख्छन् । ‘जिल्लामा खाद्यान्न संकटलाई कम गर्न फाँटको विशेष योगदान छ । यसलाई जोगाउनुपर्छ ।’ उनले भने । यसका लागि राज्य संयन्त्र सबैभन्दा बढी जिम्मेवार हुनुपर्ने उनको सुझाव छ । अब्यबस्थित बस्ती बिस्तार नरोकिए प्यूठानकै सौन्दर्यता गुम्ने खतरा रहेको उनले सुनाए । ‘झिमरुक फाँट बचाउ अभियान’ मा धेरैको आशा र भरोसा प्यूठान नगरपालिका भएको छ ।
नगरप्रमुख अर्जुनकुमार कक्षपति फाँट मासिएकोमा चिन्तित देखिन्छन । उनले नगरको नेतृत्व सम्हालेको तीन वर्ष वित्न लागिसक्यो । तर, काम भने के हुँदैछ त ? भन्छन, ‘फाँट जोगाउने विषयमा भू–उपयोग नीति बनाउदै छौँ । गुरुयोजना बनाएर अघि बढ्छौँ । हाललाई प्लटिङ गर्न रोक लगाएका छौँ ।’ पल्टिङ गरिएको पुराना जग्गामा घर बन्ने क्रम नरोकिएको उनले जनाए ।
कटान उस्तै
खोलाको सतह अग्लिएको झिमरुक नदीले हजारौं रोपनी क्षेत्रफल झिमरुकको उर्वर फाँट बर्षेनी मास्दै लगेको छ । नदी किनारका बस्ती समेत उच्च जोखिममा छन । खोलाले उत्तरपूर्वी प्यूठानको ठूलावेसीदेखि बरौलासम्मको खेत कटानको चपेटामा पर्ने गरेका छन । अन्नको भण्डारण भनेर चिनिने झिमरुक उपत्यकामा पर्ने विजुवार, खप्रेङखोला, गेजवाङ, दम्ती, मरन्ठाना, सारीवाङ, विजयनगर सहित रस्पुरकोट, विजुली, बरौला, पकला, रम्दी र धुवाङ क्षेत्रमा पर्ने खेतहरु हरेक वर्ष कटानको चपेटामा पर्छन ।
जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय विजुवार मार्फत झिमरुक नदी नियन्त्रणका लागि वर्षेनी करोडौँ रकम खर्चिए पनि प्रभावकारी उपलव्धि नदेखिएको स्थानीय गुनासो गर्छन् । गाउँगाउँमा मोटरबाटो निर्माण गर्दा निस्किएको माटो, ढुंगा भलले बगाउँदा खोला अग्लिएको हो । सडक निर्माण गर्दा निस्किएका ढुंगा, माटो सिँधै खोलामा फाल्दा नदीको बहाव परिवर्तन हुन सक्ने स्थानीयको अड्कल छ । वातावरण प्रभाव मूल्यांकनबिना नै सडक निर्माण गर्दै गएमा उर्वर भूमि झिमरुक फाँट ‘कंक्रिट’ बन्दै जाने बाली संरक्षण अधिकृत बिष्टको भनाइ छ । वर्षेनी माँसिदै गएको झिमरुक फाँट जोगाउनतर्फ प्रमुख जिम्मेवार नगरपालिका नै बन्नुपर्ने स्थानीयले बताएका छन् । सस्तो लोकप्रियतामा भन्दा नीतिगत पक्षको कार्यान्वयनमा चासो दिन जनप्रतिनिधीलाइ नगरबासीले सुझाएका छन् । नगरपालिकाले प्रभावकारी कार्यान्वयनमा चासो नदिएकै कारण दिनप्रतिदिन खेतमा अव्यवस्थित आवास निर्माणले प्रसय पाइरहेका छन् ।