बुटवल : मदाने गाउँपालिका–७ भनभने गुल्मीका कपिलमणी केसीले बाल्यकालको पढाई गाउँकै विद्यालयमा पुरा गरे । ५ कक्षा सम्म गाउँमै पढे । गाउँमा माध्यमिक तहसम्मको पढाई नभएपछि माथिल्लो शिक्षा लिन पृथ्वी उच्च माध्यमिक विद्यालय पुर्कोटदह जानुपर्दथ्यो । ६ देखि कक्षा ८ सम्म उनको पढाई पृथ्वीमै पुरा भयो ।
९ र १० सम्म अंग्रेजी राम्रो बनाउने आशाले उनी एस.एल.सी.सम्मको पढाईका लागि जोडिएको जिल्ला प्यूठान स्थित बाल शिक्षा उच्च माध्यमिक विद्यालय मच्छिमा गए । पढाईमा उनी बाल्यकालदेखि नै अब्बल थिए । १ कक्षादेखि नै उनी प्रथम भइरहे । गुल्मीबाट प्यूठान जिल्ला गएपनि उनका लागि त्यति नौलो थिएन प्यूठान । आफन्त, इष्टमित्र । मावली घरको जिल्लाले उनलाई प्यूठान आफ्नै बनाएको थियो ।
एसएलसी दिनुपूर्व टेस्ट परिक्षामै उनले उत्कृष्ट अंक लिए । ७८ प्रतिशत आयो । टेस्ट परिक्षामा गणितमा ९५ लिएका उनको एसएलसीमा ६८ मात्र आयो । परिक्षामा कक्षा कोठा व्यवस्थापन राम्रो नहुँदा र नजिकका साथीभाईहरुको होहल्लाले गणितमा कम अंक आएको उनी सम्झन्छन् । टेस्ट परिक्षापछि प्यूठानमा उनको चर्चा हुन थाल्यो । २०५० सालमा उनले एसएलसी दिए । त्यसबेला प्यूठानभरी तीन ठाउँमा मात्र एसएलसी हुुने गर्दथ्यो । उनी एसएलसीमा ‘गुड फस्ट डिभिजन’ सहित ७४ प्रतिशत लिएर जिल्ला प्रथम भए । २०५० सालतिर प्यूठानभरी कपिलमणी भनेर नचिन्ने सायद कमै थिए । ०५० सालमा प्यूठान टपेका उनी अहिले ४२ वर्षका भए ।
२०५० सालको एसएलसीमा प्यूठान टपेका उनी अहिले बुटवलमा हाडजोर्नी तथा नसा रोग विशेषज्ञ छन् ।
गाउँमा बाख्रा, भैँसी चराउँदै बाल्यकालमा आफ्नो पढाइलाई अघि बढाएका केसी एसएलसीमा सिंगो जिल्लामा नै प्रथम भएको खवर जताततै फिज्यो । त्यसपछि उनको माथिल्लो शिक्षाका लागि थप संघर्ष शुरु भए । तत्कालिन समयमा कक्षा ९ र १० मा अंग्रेजी पढाउने शिक्षक रण बहादुर खड्का सहित प्रधानाध्यापक राजेन्द्र विक्रम सिँहलाई उनी विशेष सम्झन्छन् ।
जिल्ला टपेको विद्यार्थीले कहाँ पढ्छ ? के पढ्छ ? कस्तो मान्छे बन्ला ? भन्ने धेरैको चासो र जिज्ञासा हुन्छ । त्यही जिज्ञासाको पात्र उनी पनि बनेका थिए । गाउँघरमा पढेको मान्छे भविष्यमा कस्तो हुने होला भन्ने कौतुहुल्ता बोकेरे आइएससी पढ्नका लागि उनी २०५१ सालमा काठमाण्डौँ गए ।
गाउँबाट गएको विद्यार्थीलाई काठमाण्डौँ गएर बस्न र पढ्न समस्या हुने गर्दथ्यो । उनी अमृत साइन्स कलेजमा इन्टान्स दिए । देशभरबाट आएका विद्यार्थीहरुले पढ्ने उक्त कलेजमा उनी इन्टान्समै उच्च अंक लिए । त्यसपछि उनलाई कलेजले आफ्नै होस्टेलमा बसेर पढ्ने सुविधा दियो । जिल्ला प्रथम भएको विद्यार्थीका कारण पनि उनी सुविधा लिनेमा पर्दथे । उनको मनमो सानैदेखि अंग्रेजी राम्रो बनाउनुपर्छ भन्ने थियो, त्यो इच्छा काठमाण्डौँमा गएपछि मात्र पुरा भयो । आइएससीमा पनि उनले ७७ प्रतिशत लिएर उत्र्तिण गरे ।
सरकारी क्षेत्रमा लोकसेवाले लिएको ८ औँ तहको मेडिकल अधिकृत, महाराजगंजमा विशेषज्ञ डाक्टर पढ्ने र शिक्षा मन्त्रालयले विदेश पढ्नका लागि लिएको परिक्षामा १ नम्वरमा नाम निकाले । कता जाने उनमा दोधार भयो ।
आइएससी पुरा गरेपछि उनको मनमा डाक्टर बन्ने सपना थियो । डाक्टर बनिएन भने पनि लेक्चर त भइएला भन्ने आशा थियो उनमा । चिन्ने सवैले डाक्टर बन्नुपर्छ भन्ने गरेको उनी सुनाउँछन् । त्यसैले पनि उनी बाध्यतामा होइन्, आफ्नै रुचिले डाक्टर बन्ने विषय रोजेका हुन् । रुचिले गर्दा नै उनले आइएससीमा विषय छनोट गर्दा बायोलोजी लिएका हुन् ।
मेडिकल अधिकृत (डाक्टर) पढ्नका लागि उनले शिक्षा मन्त्रालयले मागेको कोटामा इन्टान्स दिए । छात्रवृत्तिमा पढ्न पाउने गरी उनको नाम निक्लियो । ०५६ सालदेखि साढे ५ वर्ष यूनिभर्सल मेडिकल कलेज भैरहवामा अध्ययन पुरा गरे । डाक्टर बनेर मात्र सपना पुरा नहुँदो रहेछ । उनी विशेषज्ञ डाक्टर बन्न चाहान्थे । त्यसबेला नेपालमा विशेषज्ञ डाक्टर पढ्ने दुई ठाउँ धरान र महाराजगंजमा मात्र थियो ।
विशेषज्ञ डाक्टर बन्नका लागि उनी इन्टान्समा नाम निकाल्न धेरै मेहनत गरे । दैनिक १४ घण्टा पढ्थे । संयोगवस उनले विशेषज्ञ डाक्टरको कोटामा मात्र होइन्, सरकारी क्षेत्रमा लोकसेवाले लिएको ८ औँ तहको मेडिकल अधिकृत, महाराजगंजमा विशेषज्ञ डाक्टर पढ्ने र शिक्षा मन्त्रालयले विदेश पढ्नका लागि लिएको परिक्षामा १ नम्वरमा नाम निकाले । कता जाने उनमा दोधार भयो ।
भोजपुर जिल्ला अस्पतालमा उनको पोष्टिङ भयो । सरकारी जागिरमा उनी सात दिन मात्र काम गरे । सरकारी जागिर छाडेर उनी विशेषज्ञ डाक्टर (एम.डी) को अध्ययनमा लागे । चार वर्षे एममडी उनले ०६८ मा पुरा गरे । महाराजगंज मेडिकल कलेजमा एमडी सकाउँदा पनि उनी प्रथम स्थान भएर ‘गोल्ड मेडलिस्ट’ बने । उनी सफलताको सिँढिमा चढिरहे ।
उनको जागिरे जीवन शुरु भयो । नीजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) मा उनले ०६८ सालदेखि हाड तथा जोर्नी प्रत्यारोपण विशेषज्ञको रुपमा काम गर्न शुरु गरे । सिभिलमा पनि उनी चार जना प्रतिस्पर्धामा एक नम्वरमा नाम निकालेर सेवामा प्रवेश गरेका हुन् । सिभिलमा उनले १० वर्ष काम गरे ।
सिभिलमै काम गर्दा उनले २०७० सालमा जोर्नी प्रत्यारोपणका लागि भारतको एपोलो हस्पिटलमा छात्रावृत्तिमा तालिम लिने अवसर पाए । विश्वव्यापी रुपमा गरिएको प्रतिस्पर्धामा छनौट भई २०७४ सालमा चाइनाको पेकिङ यूनिभर्सिटीमा तालिम लिने अवसर पाए । हाडजोर्नीको विशेष अध्ययनका लागि ०७४ मा लिएको सिकोट परिक्षामा पनि उनी साउथ अफ्रिका गई पुरा गरेर आए ।
संघर्ष र अनुभवले खारिएका डाक्टर केसीले सिभिल अस्पतालमा रहँदा उनी सहितको टोलीले करिव १ हजार र आफ्नै नेतृत्वको टोलीले १ सय बढीको सफल प्रत्यारोपण गरेको अनुभव सुनाउँछन् । ‘सिभिलमा हुँदा पनि करिव ५० प्रतिशत विरामी लुम्विनी प्रदेश क्षेत्रकै आउनु हुन्थ्यो’,उनले भने,‘काठमाण्डौँबाट दिएको सेवा आफ्नै ठाउँमा गएर किन नदिने भनेर बुटवल आएको हुँ ।’ ०७२ सालको भूकम्पमा डाक्टर केसी सहित नेतृत्वको टोलीले करिव तीन महिना जति एक हजार बढी विरामीहरुको सफल प्रत्यरोपण गरेका थिए ।
हाडजोर्नीको विशेष अध्ययनका लागि ०७४ मा लिएको सिकोट परिक्षामा पनि उनी साउथ अफ्रिका गई पुरा गरेर आए ।
उनी २०७८ वैशाखदेखि मर्सिसिटी अस्पताल बुटवलमा हाडजोर्नी तथा नसा विशेषज्ञको रुपमा कार्यरत छन् । भूगोलको मायाँले आफूलाई बुटवल तानेको उनी सुनाउँछन् । ‘म हुर्केबढेको र पढेलेखेको गाउँ ठाउँका विरामीहरु सेवा लिन आउनुहुन्छ, सेवा गर्न पाउँदा मनमा सन्तुष्टि मिल्दो रहेछ ।’ काठमाण्डौँ छाड्नु अघि ह्याम्स अस्पतालबाट आफ्नो माग भएपनि रोजाईमा बुटवललाई पारेको उनले प्रतिक्रिया दिए । हाडजोर्नी सहित नसा र बाथरोगको क्षेत्रमा उनी विशेषज्ञता हासिल गरेका छन् । बाथरोगका विरामीहरु लुम्विनी क्षेत्रबाट काठमाण्डौँ धेरै पुगेको देख्दा पनि उनको मनमा आफ्नै क्षेत्रमा गएर सेवा दिने उनमा ठूलो चाहना थियो । (साभार : बुटवल टुडे)