प्यूठान : स्वर्गद्धारी नगरपालिका वडा नम्वर ५ ले चालु आर्थिक वर्षका लागि जनताको मनछुने कार्यक्रम अघि सारेको छ । सामाजिक छबि बनाएका वडा अध्यक्ष हिरामणी भण्डारीले नेतृत्व गरेको उक्त वडाले विगतको तुलनामा यसवर्ष जनप्रिय कार्यक्रम ल्याएको नागरिकहरुले सुनाएका छन् । वडा कार्यालयले सारी स्वास्थ्य चौकीमा यसवर्ष एम्बुलेन्स खरिद र व्यवस्थापनका लागि ११ लाख ५० हजार बजेट विनियोजन गरेको छ । छिट्टै एम्बुलेन्स खरिद प्रक्रिया अघि बढाउन लागिएको अध्यक्ष भण्डारीले बताएका छन् । विरामी अस्पतालसम्म लैजानका लागि बजारबाट एम्बुलेन्स मगाउनुपर्ने बाध्यता यसपछि हट्ने छ ।
‘आर्थिक अवस्था कमजोर भई विद्युत जडान गर्ने नसक्ने घरपरिवारलाई विद्युत मिटर जडान गरिदिने छौं’,वडा अध्यक्ष भण्डारीले भने, ‘क्रियापुत्री घर निर्माणलाई पनि प्राथमिकतामा राखेका छौं ।’
२० यूनिटसम्म विजुली खपत गर्ने सवै ग्राहकहरुको शुल्क वडाले नै तिरिदिने भएको छ । कतिपय वडाबासीहरु विद्यूत्त जडान गर्न नसक्ने भएकाले उनीहरुलाई मिटर जडानको व्यवस्था समेत वडाले गर्दैछ । नगरपालिकाले सिमा तोकेर पठाएको ७५ लाख रुपैयाँको दायरामा रहेर वडाले कार्यक्रम बनाएको हो । सामाजिक विकास तर्फ २० लाख ७५ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । यसतर्फ धेरै प्राथमिकता एम्बुलेन्स खरिदलाई दिइएको हो ।
गरिब तथा दीर्घ रोगी स्वास्थ्य बीमा कार्यक्रम ५० घर परिवारका लागि, अनाथ बालबालिका सहयोग कार्यक्रम, ग वर्गका अपाङ्गता भएका नागरिकहरुको लागि आर्थिक सहायता सहयोग कार्यक्रम समेत समेटिएको वडा अध्यक्ष भण्डारीले बताए । पूर्वाधार विकास तर्फ ३९ लाख ६५ हजार रुपैयाँ बजेट छ । मोटरबाटो स्तरोन्नति, मर्मत तथा नयाँ निर्माणलाई विशेष प्राथमिकतामा राखिएको छ । सिंचाई कुलो, पोखरी, गाउँघर खोप क्लिनिक भवन निर्माण, प्रतिक्षालय निर्माणमा बजेट विनियोजित छ ।
‘आर्थिक अवस्था कमजोर भई विद्युत जडान गर्ने नसक्ने घरपरिवारलाई विद्युत मिटर जडान गरिदिने छौं’,वडा अध्यक्ष भण्डारीले भने, ‘क्रियापुत्री घर निर्माणलाई पनि प्राथमिकतामा राखेका छौं ।’ आर्थिक विकास तर्फ वडाले ८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ भने संस्थागत विकास तथा सेवा प्रवाह तर्फ ४ लाख १० हजार रुपैयाँ बजेट छुट्याएको छ । युवा प्रतिभा तथा बाल प्रतिभा पहिचान तथा प्रोत्साहन कार्यक्रम अघि सारिएको छ ।
जेष्ठ नागरिक सम्मान कार्यक्रम, आमा समूह तथा महिला सञ्जाललाई क्षमता विकास तालिम, बाल क्लव तथा बाल सञ्जाल पूर्नःगठन लगायतका कार्यक्रमलाई वडाले समेटेको छ ।