- डाँडाको त्यो पर्यटकीय संभावना
मालिका (गुल्मी) : मालिका गाउँपालिका ५ छापहिलेको घनाबस्तीदेखि माथी रहेको छाप सामुदायिक बनको बीचमा एउटा ठूलै ढुंगा अडियो । उत्तरपट्टी हेर्दा आङै सिरिङ्ग गर्ने भनभने भीर र दक्षिणपट्टी हेर्दा घनाबस्ती छ । यति ठूलो ढुंगा कसरी अडिए होला ? स्थानीय चकित छन् । समुन्द्री सतहदेखि करिव १ हजार ९ सय मिटर उचाईमा अवस्थित । चारैतिर हरियाली जंगल । लोभालाग्दो डाँडा, जहाँ पुग्दा मनै फुरुङ्ग हुने खालको छ यो ‘उल्टेढुंगा’ । तस्विरमा देख्दा जति आहा ! छ, पुग्दा अझ लोभलाग्दो छ ।
ढुंगामा चढेपछि गुल्मीका अधिकांश ठाउँ सहित धौलागिरी, माछापुच्छ्रे हिमाल आँखैको डिलैमा बसेजस्तै अनूभुति हुन्छ । बाग्लुङ, गुल्मी, प्यूठान र अर्घाखाँचीका धेरैजसो डाँडापाखाहरु उल्टेढुंगामाथी चढेर नियाल्न सकिन्छ । अहिले पिकनिक स्थलको रुपमा चिनिएको यस क्षेत्रलाई पर्यटकीय रुपमा विकास गर्न सकिने प्रशस्त संभावना छन् । प्राकृतिक रुपमा आफैँ सजिएर बसेको यति ठूलो ढुंगा र डाँडाबाट देखिने दृश्य नै यहाँको प्रमुख आकर्षण हो ।
परापूर्व कालदेखि नै सामुदायिक वनमा ठूलो ढुंगा बस्यो । जो उल्टो आकारमा अडियो र, यसलाई स्थानीयले उल्टेढुंगाको रुपमा नामाकरण गरे । स्थानीयबासीले यस क्षेत्रलाई भ्यू स्टोनको रुपमा प्रवद्र्धन गर्न सरकारसँग माग गरेका छन् ।
ढुंगाको संरक्षण र चारैतिर तारजाली लगाएर भ्यू स्टोनको रुपमा यसलाई प्रयोग गर्नसके पर्यटकहरु तान्न सकिन्छ । लोभलाग्दा दृश्य हेर्नका लागि र सेल्फी खिच्नका लागि अहिले यूवापुस्ताहरु यहाँ पुग्ने गरेका छन् । तर, यसको संरक्षण र प्रवद्र्धन हुन सकेको छैन् । उल्टेढुंगा नजिकै पहरामा परापूर्व कालमा घोडा हिडेको र उक्त घोडा हिडेको छाप अझै पनि देखिने स्थानीय बताउँछन् । अर्घाखाँचीको सुपादेउराली मन्दिर नजिकैको भीरमा लाहुरे टाँसेको तस्विर देखिएजस्तै यहाँ घोडा भीरमा हिडेको जस्तो आकृति देखिने गरेको बुढापाकाहरु सुनाउँछन् ।
‘हामीले जान्दा बुझ्दादेखि नै यहाँ ठूलो ढुंगा छ, त्यस नजिक घोडा हिडेको छाप देखिने गर्छ’,स्थानीय ८० बर्षिय बृद्ध नर बहादुर खड्काले भने,‘अहिले ढुंगा हेर्न मानिसहरु आउने गर्छन् ।’ उनले प्रकृतिले निःशुल्क रुपमा दिएका प्राकृतिक सौन्दर्यताहरुलाई संरक्षण र प्रवद्र्धन गर्न स्थानीय जनप्रतिनिधीहरुलाई सुझाव दिए । ‘नयाँ पुस्ताले यसको बचाउँ गर्नुपर्छ’,खड्काले भने,‘सिंगो जिल्लाले नै यसबाट लाभ लिन सक्छ ।’ रोल्पाको ढुंगे बगैचा, तम्घास नजिकैको रुख घर जस्ता क्षेत्रहरुको प्रचार प्रसारले चर्चा चुलिएको खबर यहाँका स्थानीयले आफ्नो गाउँको उक्त संभावना ओझेलमा पर्दा निराश बनेका छन् ।
छापहिलेका स्थानीय यूवा अशोक कुमार खड्काले उल्टे ढुंगामा चढ्ने सिंढी निर्माण, ढुंगाबाट तस्विर खिच्नका लागि टावर निर्माण र वरिपरी तारजाली लगाएर पर्यटकहरु ढुक्कसँग घुम्न सक्ने बनाउन सरकारसँग माग गरे । ‘स्थानीयको आय आर्जनसँग यो क्षेत्रले महत्वपूर्ण भूमिका खेल्दछ’,उनले भने,‘प्रदेश र स्थानीय सरकारले पूर्वाधार निर्माणमा लगानी गर्नुपर्छ ।’ मालिका गाउँपालिका क्षेत्रका पर्यटकीय स्थलहरुमध्ये उल्टेढुंगा पनि एक महत्वपूर्ण स्थल हो ।
ढुंगा नजिकै पर्यटकीयस्थल लेखपोखरामा हरेक वर्ष माघे संक्रान्तिमा मेला लाग्ने गर्दछ । यहाँ चिम्टाले खनेको पोखरी निर्माण गरिएको छ । पोखरीमा पानी रित्तिदा वित्तिकै आकाशबाट पानी पर्ने जनविश्वास रही आएको छ । लेखपोखरा र उल्टेढुंगालाई सँगै जोडेर पूर्वाधार निर्माण र पर्यटन प्रवद्र्धन गर्न सकिन्छ ।