प्यूठान : प्यूठानमा छिनछिनमा आउनेजाने विद्युत्तले जिल्लाबासीले हैरानी खेप्नुपरेको छ । वर्षौदेखि अनियमित विद्युतले जिल्लाबासीले खेप्नुपरेको समस्या अझै समाधान हुन सकेको छैन् । पटकपटक अनियमित विद्युत्त समाधान गर्न नागरिकहरुले गरेको आग्रहलाई वेवास्ता गरिएको छ । नागरिकहरुको आक्रोश चुलिन थालेको छ ।
छिनमा जाने र छिनमा आउने विद्युत्त समस्या समाधानका लागि प्यूठान नगरपालिका–८ दम्तिमा सबस्टेशन निर्माण थालिएको वर्षौ वितिसक्यो । तर, यसको निर्माणले अझै पूर्णता पाउन सकेको छैन् । जिल्लाको कुनै एक स्थानमा विद्युत्त समस्या हुँदा जिल्लाभर नै लाइन जाने गर्दछ । प्राविधिकका अनुसार विद्युत्त सबस्टेशन संचालनमा आएमा एक स्थानमा लाइन गएपछि सवै ठाउँमा समस्या हुँदैन् । विद्युत्त अनियमित समस्या समाधान गर्न महत्वपूर्ण भूमिका हुने सबस्टेशन संचालनमा ल्याउन चासो नदेखाउनु सरोकारवाला निकायको कमजोरी रहेको नागरिकहरुले गुनासो पोखेका छन् ।
सम्पर्कमै छैनन् ठेकेदार
निर्माणाधीन उक्त सबस्टेसनको ठेकेदार सम्पर्क विहिन छन् । निर्माणको काम पुरा भएपनि प्रशारण लाइनको बाँकी काम पुरा नहुँदा सबस्टेसन संचालनमा आउन सकेको छैन । ‘प्रशारण लाइन विस्तारको जिम्मा त्रिपुरेश्वर जयदुर्गे जेभिले लिएको छ’ नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेस डिभिजन प्रमुख सुरज गौतमले भने, ‘हामीले बारम्बार फोन र पत्राचार गरेका छौं तर कुनै रेस्पोन्स आएको छैन ।’
३२ केभिए डबल सर्किट लाइन विस्तारको काम तथा ११ केभिए फिडरको काम ठेकेदार पक्षले पुरा नगरेको गौतमले जानकारी गराए । ‘मैले विभागमा रिपोर्टिङ गरेको छु, ठेकेदारले चरम लापरवाही ग¥र्योे’,गौतमले भने, ‘धरौटी जफत तथा कालो सूचिमा पार्दैछौ ।’ सबस्टेसन संचालनको काम लम्बिदै गएपछि प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले गत मंसीर महिनामा निर्माण कम्पनीलाई तीन महिना भित्र काम सम्पन्न गर्न निर्देशन दिएका थिए । तीन महिना भित्र बाँकी काम सम्पन्न गर्ने प्रतिबद्धता गरेका ठेकेदार कम्पनी ६ महिना बित्नै लाग्दा समेत सम्पर्कमा नआउनु लापरवाही भएको भुसालले बताए ।
ठेक्का लगाउने डिभिजन कार्यालयको हेलचेक्राईले पनि ठेकेदार कम्पनी जिम्मेवार विहिन भएको भुसालको बुझाई छ । ‘तोकिएको समय भन्दा बढी समय दिँदासम्म काम सम्पन्न नभएकोले ठेकेदार कम्पनीलाई कारवाही प्रक्रिया अघि बढाउछौं’,प्रमुख जिल्ला अधिकारी भुसालले आजको पोष्टसंगको कुराकानीमा भने,‘प्यूठानमा उत्पादन भएको विद्युत राष्ट्रिय ग्रेडमा जोडिएपछि सहज रुपमा विद्युत उपभोग गर्ने पाउने प्यूठानी नागरिकको अधिकार पनि हो ।’
सबस्टेसन संचालनमा आउन नसक्दा उद्योग कलकारखाना संचालनमा समस्या भोग्नु परेको प्यूठान उद्योग वाणिज्य संघका अध्यक्ष केदारमान कक्षपतिले बताए । ‘जिल्लामै बिद्युत उत्पादन भएर पनि सबस्टेसन संचालनमा आउन ढिलाई हुनु दुःखद हो’,कक्षपतिले भने, ‘सरोकारवाला निकाय तथा यहाँबाट प्रदेस तथा केन्द्रमा प्रतिनिधित्व गर्ने राजनैतिक नेतृत्वबाट पहलकदमी हुनुप¥यो ।’
अहिले प्यूठानमा ३३ केभिएबाटै वितरण लाइन व्यवस्थापन भएको छ । सबस्टेसन संचालनमा आए ११ केभिएबाट लाइन वितरण हुन्छ । सबस्टेसन संचालनमा ढिलाई हुँदा प्यूठानीहरुले विद्युत अनियमितताको समस्या भोग्दै आएका छन् । निर्माणको ठेक्का पाएका ठेकेदारलाई सम्पर्क गर्न खोज्दा उनको मोवाइल स्वीचअफ छ ।
‘विकासका लागि जिल्लामा बजेट आउँदा त्यसको अपनत्व लिन तछाडमछाड गर्ने राजनीतिक नेतृत्व अहिले कहाँ छन् ?’,नेपाली कांग्रेस प्यूठानका यूवा नेता प्रमोद पोखरेलले प्रश्न गर्दै भने,‘जिल्लाबाट प्रतिनिधित्व गर्ने माननीयहरुले यसको जवाफ दिनुपर्छ ।’ उनले जिल्लाका निर्वाचित जनप्रतिनिधी र माननीयहरु जनताप्रति जवाफदेही नहुँदा आम नागरिकहरुले हैरानी खेप्नुपरेको टिप्पणी गरे । सबस्टेशन नभएकै कारण करोडौँका मेशिन औजारहरुमा क्षति पुग्ने गरेको समेत उनले सुनाए ।