प्यूठान : अग्रस्थानमा रहेर कोरोना उपचार र रोकथाममा स्वास्थ्यकर्मीहरु खटिरहेका छन् । पहिलो लहरको कोरोना संक्रमणमा पनि जिल्लामा स्वास्थ्यकर्मीले जोखिम मोलेरै भएपनि राज्यले सुम्पेको जिम्मेवारी पुरा गरे । कोरोनामा खटिएका स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउन सरकारले घोषणा गरेबमोजिम पूर्ण रुपमा उक्त प्रोत्साहन नपाएको उनीहरुको गुनासो छ । प्यूठान अस्पतालका स्वास्थ्यकर्मीले १४ दिनको मात्र प्रोत्साहन भत्ता पाए । तोकेको प्रोत्साहन भत्ता नपाउँदा पनि उनीहरुले आफ्नो जिम्मेवारी पुरा गर्न छाडेनन् ।
स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा खटिने स्वाथ्यकर्मीको भूमिका महत्वपूर्ण हुने प्यूठान अस्पतालका नर्सिङ स्टाफ प्रमुख राधा केसीले बताइन् । ‘हामी रातदिन विरामीको सेवामा खट्छौ’,केसीले भनिन्, ‘हाम्रो मनोबल उच्च गराउन राज्यले प्रोत्साहन गरिदिनुपर्छ । स्वास्थ्यकर्मीहरुले उच्च जोखिममा रहेर काम गर्ने हुनाले उनीहरूको परिवार समेत जोखिममा परिरहेको केसीले बताईन् । संक्रमित स्वास्थ्यकर्मी र परिवारको उपचारको जिम्मा सरकारले लिनुपर्ने उनको भनाई छ । सरकारले प्रर्याप्त मात्रामा स्वास्थ्य सामग्री उपलब्ध गराउनसके कोभिड विरामीको सेवामा थप सुविधा हुने बताइन ।
धर्म र कर्तव्य ठानेर विरामीहरुको सेवामा खटिएको मरनठाना स्वास्थ्य चौकीमा कार्यरत चन्द्रकला केसीले सुनाइन । स्वास्थ्यकर्मीको मनोबल बढाउन सामाजिक क्षेत्रबाट रचनात्मक सहयोग हुनुपर्नेमा उनले आग्रह गरिन् । ‘सरकारले प्रोत्साहन भत्ता नदिएपनि हाम्रो कर्तव्य विर्सन्नौ’, उनले भनिन् ।
जिल्ला आईशोलेसन केन्द्रमा आवतजावतका लागि स्थानीय तहका स्वास्थ्यकर्मीलाई समस्या भएको उनीहरुले प्रतिक्रिया दिएका छन् । कोरोना विरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई सरकारले खानबस्न व्यवस्था छुट्टै गर्नसके जोखिम कम हुने प्यूठान अस्पतालका कोरोना फोकल पर्सन डाक्टर सुदिप अधिकारीले बताए । ‘घर आउजाऊ गर्ने स्वाथ्यकर्मीको परिवार बढी जोखिममा पर्ने सम्भावना हुन्छ’,अधिकारीले भने, ‘सेवामा खट्ने स्वास्थ्यकर्मीले रोग सारेर परिवारमा पुग्नपर्ने अवस्था हुने थिएन ।’ अधिकारीले काम गर्दा त्रास कम हुन गई ढुक्क भएर विरामीको उपचारमा खट्न सहज हुने बताए । सरकारले प्रोत्साहन स्वरुप ५० प्रतिशत जोखिम भत्ता उपलब्ध गराउने भनेपनि कार्यान्वयन नभएको उनले सुनाए ।
धर्म र कर्तव्य ठानेर विरामीहरुको सेवामा खटिएको मरनठाना स्वास्थ्य चौकीमा कार्यरत चन्द्रकला केसीले सुनाइन । स्वास्थ्यकर्मीको मनोबल बढाउन सामाजिक क्षेत्रबाट रचनात्मक सहयोग हुनुपर्नेमा उनले आग्रह गरिन् । ‘सरकारले प्रोत्साहन भत्ता नदिएपनि हाम्रो कर्तव्य विर्सन्नौ’, उनले भनिन् ।
स्वास्थ्य संस्थाहरुमा पर्याप्त मात्रामा स्वास्थ्य तथा सुरक्षा सामाग्रीको व्यवस्थापन हुन नसक्दा स्वास्थ्यकर्मीहरुले खुम्चिएर काम गर्नु परेको सरुमारानीका स्वास्थ्य शाखा प्रमुख टेकेन्द्र रायमाझीले बताए । जोखिम क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीलाई प्रोत्साहन गर्ने सवालमा राज्यको ध्यान नपुगिरहेको उनले बताए । केन्द्रबाट अहिलेसम्म जोखिम भत्ता नपाएको उनको भनाई छ । उनि भन्छन्, ‘जेजति पाईएको छ स्थानीय सरकारबाट प्रोत्साहन पाइएको छ ।’
स्वास्थ्यकर्मीको मनोबल बढाउने नीति तथा कार्यक्रम बन्नुपर्नेमा प्यूठान नगरपालिका स्वास्थ्य शाखा प्रमुख गोविन्द घिमिरेले जोड दिए । ‘कोभिड विरामीको सेवा गर्दागर्दै जोखिममा पर्ने स्वास्थ्यकर्मीको सुरक्षा कसले गर्ने ?’ घिमिरेले भने,‘संक्रमित स्वास्थ्यकर्मी तथा परिवारको जिम्मा कसले लिने ?’ स्वास्थ्यकर्मीहरुका लागि प्रोत्साहनका कार्यक्रम बनाउन केन्द्र तथा प्रदेस सरकारले उचित ध्यान नदिएको घिमिरेको गुनासो छ ।