बुटवल : रोल्पाका पत्रकार काशीराम डाँगीमाथी रोल्पाकै नेता वर्षमान पुन (अन्नत)ले बुधवार आफ्नो फेसबुक पेज मार्फत आरोप लगाए । आफ्नो बदनाम गर्न पत्रकार डाँगी लगाएत एमाले नेताहरु लागेकोप्रति खेदजनक भएको उनले जनाएका छन् । पूर्व ऊर्जा मन्त्री समेत रहेका रोल्पाका प्रतिनिधीसभा सदस्य पुनको अभिव्यक्ति सामाजिक सञ्जालमा व्यक्त भएपछि विभिन्न टिकाटिप्पणी भइरहेका छन् । काठमाण्डौँमा आएका अक्सिजन सिलिण्डरहरु गृह जिल्ला रोल्पा पठाउन आफूले पहल गरेको कुरालाई अतिरञ्जित गराएको पुनले प्रतिक्रिया दिए ।
आजको पोष्टसँग टेलिफोनमा कुरागर्दै नेता पुनले भने,‘दुई दिन पहिले मेरै सहजीकरणमा रोल्पा, पूर्वी रुकुम र सल्यानमा अक्सिजन सिलिण्डर पठाएको थिए’,उनले भने,‘रोल्पामा वितरण गर्दा काशीराम जी त्यहाँ पुग्नु भएको रहेछ । अनुदानमा आएको सिलिण्डर मन्त्रीले बेच्दै छन् भन्नुभएको खबर म कहाँ आइपुग्यो र खण्डन गरेको हुँ ।’
पत्रकार डाँगीले अक्सिजन सिलिण्डर विक्री गर्ने विध म्यानेजमेन्ट प्रालि काठमाण्डौँमा फोन गरेर समेत यसबारेमा जानकारी लिएको खवर आफूलाई आएको नेता पुनले बताए । ‘उहाँले विध म्यानेजमेन्टमा पनि फोन गरेर कतिमा बेचेको हो भनेर सोध्नुभएको रहेछ’,पुनले भने,‘चुपचाप बसिरहेको थिए, एकछिन पछि अनलाईनमा न्यूज आयो । एमालेका साथीहरुले अभियानै चलाएर म माथी खनिएका रहेछन् । मलाई झोक चल्यो र फेसबुकमा स्टाटस लेखेको हुँ ।’
नेता पुनले सार्वजनिक रुपमा स्टाटस लेख्नुअघि पत्रकार डाँगीसँग कुनै सोँधखोज र प्रतिक्रिया लिएका थिएनन् । यसबारेमा आफू नै आश्चर्य चकित भइरहेको पत्रकार डाँगीले प्रतिक्रिया दिए । ‘उहाँको बारेमा मैले न केही समाचार लेखेको छु, न त केही भनेको छुँ’,टेलिफोनमा कुरागर्दै डाँगीले भने,‘एक्कासी फेसबुकमा म माथी खनिएको देख्दा म दंग परिरहेको छु । खै किन यस्तो गर्नुभयो ?’
‘मैले समाचार लेख्ने कान्तिपुरमा हो’,डाँगी भन्छन्,‘यसबारेमा कुनै पनि समाचार लेखेको छैन्, डिटेल कल रेकर्ड हेर्दा पनि हुन्छ । उल्टै म माथी यस्तो आरोप किन ?’ कसैको बारेमा कुनै आरोप लगाउँदा त्यसबारेमा स्पष्टसँग बुझ्न समेत उनले नेता पुनलाई आग्रह गरे । ‘उहाँले अक्सिजनका बारेमा काठमाण्डौँको विध म्यानेजमेन्ट प्रालिमा फोन गरेर मैले बुझेको भन्नुभएछ’,डाँगीले भने,‘मैले यसबारेमा कसैसँग केही सोँधखोज पनि गरेको छैन्, मेरो कल डिटेल हेर्दा हुन्छ । किन यस्तो लेख्नुभयो म चकित छु ।’ उनले आफूलाई मनमा लागेको कुरा नबुझी नलेख्न समेत नेता पुनलाई आग्रह गरे । बीना कारण आफूलाई आरोप लगाउँदा अनावश्यक विवाद बढिरहेको उनले सुनाए ।
पत्रपत्रिकामा समाचार नलेखेपनि भित्रि रुपमा डाँगीले आफ्नो आलोचना गरेकाले उहाँप्रति लक्षित गरेर सामाजिक सञ्जालमा पोष्ट गरेको नेता पुनले प्रतिक्रिया दिएका छन् । ‘उहाँले भित्रि रुपमा मेरो आलोचना गर्नुभयो मैले बाहिर प्रस्तुत गरे । भएको यत्ति हो । उहाँले फेरी मैले जस्तै लेखेर खण्डन गरे भइगो त ।’ यसै विषयलाई लिएर नेता पुनसँग नजिक रहेका नेता, कार्यकर्ताहरुले आफूलाई टेलिफोन गरिरहेको पत्रकार डाँगीले प्रतिक्रिया दिए । विध ल्याब म्यानेजमेन्ट प्रालि काठमाण्डौँबा नेता पुनको सहजीकरणमा रोल्पा पुगेका सोही प्रकृतिको अक्सिजन सिलिण्डर र वनमन्त्री प्रेम ओलेले खरिद गरेको सिलिण्डरको दररेट समेत फरक फरक छ ।
पुनले भने,‘चुपचाप बसिरहेको थिए, एकछिन पछि अनलाईनमा न्यूज आयो । एमालेका साथीहरुले अभियानै चलाएर म माथी खनिएका रहेछन् । मलाई झोक चल्यो र फेसबुकमा स्टाटस लेखेको हुँ ।’
समाचारका विषयवस्तु भन्दा बाहिर गएर पत्रकारहरुलाई बीनाकारण धम्की दिन थालेको भन्दै नेता पुनको चौतर्फी आलोचना भइरहेको छ । आफ्नै सहजीकरणमा तीन पटक गरी १ सय ७६ वटा अक्सिजन सिलिण्डर रोल्पा पठाइएको नेता पुनले जानकारी गराए ।