काठमाण्डौँ : नेकपा एमाले स्थायी कमिटी बैठकले नेता माधव नेपाल र झलनाथ खनाल सहित ११ जना नेतालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको छ । बालुवाटारमा सोमवार बसेको बैठकले उनीहरुलाई यस अघि स्पष्टीकरण सोधेको थियो ।
सोधेको स्पष्टीकरण नदिने जवाफ उनीहरुबाट आएपछि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले कारवाहीको निर्णय लिएको हो । बैठकले नेपाल, खनाल सहित कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कलिला खातुन र निरा देवी जैरूलाई निष्कासन गरेको हो ।
थप १२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने समेत निर्णय भएको छ । ती नेताहरुमा घनश्याम भुसाल, सुरेन्द्रप्रसाद पाण्डे, भवानी खापुङ, यज्ञराज सुनुवार, विरोक खतिवडा, जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, सोमप्रसाद पाण्डे, मेटमणी चौधरी, झपट रावल, दीपकप्रकाश भट्ट र नारायण खतिवडा सहित छन् । सोमवार भएको रिट दायरमा माधव समूहका नेता गोकर्ण विष्ट, गणेश पहाडी र पवित्रा निरौलाले हस्ताक्षर गरेका छैनन् ।