बुटवल : सँधै हैरानी खेप्दै आइरहेको सिद्धबाबा सडक खण्डमा सुरुङ मार्ग बन्ने भएपछि यस क्षेत्रका नागरिकहरु उत्साहित भएका छन् । भौतिक पूर्वाधार विकास मन्त्रालयले आइतवार सुरुङमार्ग बनाउनका लागि बोलपत्र आव्हान गरेपछि नागरिकमा आशा पलाएको हो ।
जहिल्यै सुरुङ मार्ग बन्ने मात्रै चर्चा चल्ने र ठोस प्रक्रिया अघि बढ्न नसक्दा नागरिकमा सेलाउँदै गएको आशा पलाएको हो । यस मार्गलाई कतिपयले मृत्युमार्गको रुपमा पनि संज्ञा दिने गर्दछन् । धेरैजसो बर्खायामको बेला वर्षेनी नागरिकहरुले ज्यान गुमाउँदै आएका छन् । बुटवलको चिडिया खोलादेखि तिनाउँ गाउँपालिका पाल्पाको दोभानसम्मको सात किलोमिटर दुरी धेरै जोखिमयुक्त छ ।
सुरुङमार्ग निर्माणका लागि सरकारले यसअघि स्वीस सरकारको सहयोगमा सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेको छ । अर्थ मन्त्रालयले अघिल्लो वर्ष १० अर्ब १५ करोड बजेट सुनिश्चित गरिसकेको छ । योजना वहुवर्षिय अन्तर्गत हुने छ ।
सुरुङ मार्ग निर्माणका लागि रुपन्देही क्षेत्र नं २ का प्रतिनिधी सभा सदस्य एवं अर्थमन्त्री विष्णु पौडेलले वर्षौ अघिदेखि चासो दिँदै आइरहेका थिए । उनकै पहलमा यसको काम अगाडी बढेको हो । यस क्षेत्रका नागरिकसँग नेता पौडेलले सुरुङमार्ग आफ्नो कार्यकालमा बनाएरै छाड्ने आश्वासन समेत दिएका छन् ।
सडक विभागका प्रवक्ता इन्जिनियर शिवप्रसाद नेपालले सुरुङमार्ग निर्माण प्रक्रियामा प्रवेश गरेको उल्लेख गर्दै असार २३ गते दिउँसो १२ बजेसम्म निर्माण कम्पनीलाई बोलपत्र आह्वानमा सहभागी हुन आग्रह गरे । सुरुङ मार्ग निर्माणपछि रुपन्देही, गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, पोखरा, बाग्लुङ, प्यूठानमा नागरिक प्रत्यक्ष लाभांवित हुनेछन् । यस सडक हुँदै धेरैजसो लुम्विनी र गण्डकी प्रदेशका नागरिकहरु ओहोरदोहोर गर्छन् ।