प्यूठान : पहिलो लहरको कोरोना नियन्त्रण गर्न गतवर्ष जिल्ला स्तरीय आइशोलेसन केन्द्र संचालनको नेतृत्व कसले गर्ने ? भन्ने विषयमा लामो छलफल भयो । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकमा जिल्ला समन्वय समिति, प्यूठान अस्पतालमध्ये एक कार्यालयले यसको नेतृत्व लिने र सवै तहबाट सहयोग गर्ने विषयमा छलफल चल्यो । तर, यी दुवै कार्यालयले नेतृत्व लिन र स्रोत परिचालन गर्न मानेनन् ।
जिल्लाकै मुटु मानिने विजुवार क्षेत्र र जिल्ला अस्पताल नजिक भएका कारण प्यूठान नगरपालिकालाई यसको नेतृत्वदायी भूमिकाको जिम्मेवारी दिने निर्णय भयो । दोस्रो लहरको कोरोना शुरु भएपछि पनि नेतृत्व लिने विषयमा छलफल चल्यो । गतवर्षकै अनुभवका आधारमा प्यूठान नगरपालिकाले यसको नेतृत्व गरेको छ ।
प्यूठान नगरपालिकालाई आफ्नै कार्यवोझ छ । त्यसैमा जिल्लाभरीका कोभिडका विरामीहरुको उपचार र नियन्त्रणमा जिम्मेवारी थपिएपछि नगरप्रमुख अर्जुनकुमार कक्षपती सहितको टोलीलाई भ्याईनभ्याई भएको देखिन्छ । जिल्लाका स्थानीय तहका जनप्रतिनिधी र र्कचारीहरुलाई आफ्नै पालिकाहरुमा कोरोना नियन्त्रण गर्न भ्याईनभ्याई भइरहेकाले जहिल्यै फूर्सदिलो हुने जिल्ला समन्वय समितिले गर्नुपर्ने नागरिकहरुको आग्रह छ । समन्वय समितिले जिल्लामा न समन्वय गरिरहेको छ, न त फिल्डमा उभिएर काम नै गरेको छ । यसको जिम्मेवारीका विषयमा नागरिकहरुले प्रश्न गर्न थालेका छन् ।
स्थानीय सरकारका जनप्रतिनिधीहरु र नागरिक स्तरबाटै समन्वय समितिको काम कर्तव्य तथा भूमिकाप्रति सन्तुष्ट हुन नसकेको पाइएको छ । प्रशासनिक काम, विकास निर्माण लगाएत काममा स्थानीय तहहरु व्यस्त हुने भएकाले फूर्सदमै रहने जिल्ला समन्वय समितिको टिमले जिल्ला आईसोलेशन केन्द्रको संचालन तथा व्यवस्थापनको नेतृत्व किन नगर्ने ? भन्ने प्रश्न जनप्रतिनिधीहरुबाटै उठ्न थालेको छ ।
‘हामी सबै जनप्रतिनिधि व्यस्त नै छौं, जिल्लाको आईसोलेशन केन्द्र समन्वयकै नेतृत्वमा संचालन हुनुपर्दथ्यो’, ऐरावती गाउँपालिका उपाध्यक्ष बुद्ध बहादुर बस्नेतले भने,‘उहाँहरुले नेतृत्व लिएको भए सबै क्षेत्रमा समन्वयको पाटो थप प्रभावकारी हुन्थ्यो र हामीहरूलाई पनि परिचालित हुन सजिलो हुन्थ्यो ।’
स्वर्गद्वारी नगरपालिकाका नगर प्रमुख नेत्रबहादुर रोकायले जिल्ला समन्वयले आईसोलेशन केन्द्र संचालनमा नेतृत्व लिन जोड दिए । स्थानीय सरकारलाई कार्यबोझ धेरै हुने भएकालस जिल्लाको नेतृत्व समन्वयले लिनुपर्ने उनको जोड छ । जिल्ला समन्वय समितिका प्रमुख वाहेक अन्य सदस्यहरुलाई आफूले अहिलेसम्म कुनै पनि बैठक लगाएत अन्य काममा नदेखेको उनले प्रतिक्रिया दिए । जिल्ला समन्वयको टिमले आफ्नो भूमिका बढाउन आग्रह गर्दै गौमुखी गाउँपालिका अध्यक्ष विष्णु कुमार गिरीले स्थानीय तहबाट भएको सहयोगलाई परिचालनमा नेतृत्व लिन आग्रह गरे ।
प्यूठानको जिल्ला समन्वय समितिले संविधानले परिभाषित गरे बमोजिमको भूमिका तथा जिम्मेवारी पुरा नगरेको देखिएको गैर सरकारी संस्था महसघं प्यूठानका अध्यक्ष नेत्रमणी आचार्यले प्रतिक्रिया दिए । ‘कोभिड नियन्त्रण गर्न समन्वयले सबै पक्षसंग समन्वय गर्न सक्नुपर्छ’, आचार्यले भने, ‘तुलनात्मक रुपमा उहाँहरुको भूमिका कमजोर नै मानिएको छ ।’ अहिले जिल्लामा सामूहिक कामको नेतृत्व गर्ने सवालमा समन्वयको अभाव खड्किएको आचार्यले सुनाए ।
जिल्ला स्तरीय आईसोलेशन केन्द्रको संचालन तथा अन्य निर्णयहरु जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रमा हुने भएकाले छलफलमा आफूलाई जिम्मेवारी नआएको जिल्ला समन्वय समितिका प्रमुख केशव आचार्यले प्रतिक्रिया दिए । ‘समितिमा स्थानीय सरकारका सबै प्रमुखहरु हुनुहुन्छ’,आचार्यले भने, ‘बैठकमा कुरा नआउने बाहिर–बाहिर आएर के गर्ने ?’ आईसोलेशन केन्द्र संचालन, जिल्ला अस्पतालमा अक्सिजन प्लान्टको स्थापना लगाएतका बारेमा सरोकारवालासँग समन्वय भइरहेको उनले दावी गरे । जिल्लाका ९ वटै स्थानीय तहहरुको अभिभावकको रुपमा समेत जिल्ला समन्वय समितिलाई लिने गरिएको छ ।