बुटवल : सडक डिभिजन प्यूठानको कार्यालयलाई हटाउने मन्त्रीपरिषद्ले निर्णय गरेको छ । सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता शिव प्रसाद नेपालले आर्थिक वर्ष २०७८÷०७९ देखि लागुहुने गरी प्यूठानको डिभिजन हटाउने निर्णय भएको जानकारी दिए ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा सामान्य प्रशासन मन्त्रालयले गरेको संगठन व्यवस्थापन सर्भेको आधारमा प्यूठानका लागि सडक डिभिजन कार्यालय आवश्यक नरहेको पाइएकाले हटाउने निर्णय भएको उनले बताए । ‘संघ अन्तर्गत ३३ वटा डिभिजन कार्यालय छन्’,नेपालले भने,‘प्यूठान सहित ललितपुर डिभिजन र सिन्धुलीको खुर्कोट डिभिजन त्यहाँबाट हटाउने निर्णय भएको छ ।’ हटाइएका जिल्लाहरुलाई नजिकका डिभिजन कार्यालयले हेर्ने उनले जानकारी गराए । डिभिजन कार्यालयहरु नजिक नजिक भएकाले हटाउनु परेको उनको भनाई छ । प्यूठानबाट नजिकको सडक डिभिजन दाङ हो । प्यूठानको डिभिजन कार्यालयले रोल्पा समेत हेर्दै आएको छ ।
कार्यालय हटाउने विषयमा लिखित रुपमा कुनै जानकारी नआएको सडक डिभिजन प्यूठानका डिभिजन प्रमुख विनोद प्रसाद सापकोटाले जानकारी गराए । ‘मौखिक रुपमा हटाउने जानकारी पाएको छु’,उनले भने,‘तर लिखित रुपमा कार्यालयलाई कुनै जानकारी छैन् ।’ जिल्लाका महत्वपूर्ण रणनैतिक सडकका योजनाहरु डिभिजन मार्फत हुँदै आएका छन् । सडक बोर्ड बाहेक डिभिजनबाट वार्षिक ३२ करोडका योजनाहरु संचालन हुने गरेको डिभिजन प्रमुख सापकोटाले जानकारी गराए ।
प्यूठानको भौतिक पूर्वाधार विकास निर्माणसँग महत्वपूर्ण मानिएको उक्त कार्यालय अन्यत्र जिल्ला लैजाने निर्णयले निराश बनाएको जिल्लाबासीले गुनासो गरेका छन् । यसअघि रोल्पा, पूर्वी रुकुम हेर्ने गरी प्यूठानमा रहेको प्रदेश मातहतको सडक पूर्वाधार विकास कार्यालय पनि हटाएर रोल्पा लगिएको छ ।
प्यूठानको बाटोहुँदै संचालन हुने भनिएका मदन भण्डारी राजमार्गको रुट भर्खरै तय भएको छ । यसको कार्यान्वयनले तिव्रता पाएको छैन् । बाग्दुला–भिमगिठे सडकको यस अघि भएको टेन्डर रद्द भएपछि त्यसको थप प्रक्रिया अघि बढेको छैन् । जिल्लामा रहेका सरकारी कार्यालयहरु हटाउँदै गएपछि निर्वाचित जनप्रतिनिधी र दलका नेतृत्वको भूमिकाप्रति नागरिकहरुले प्रश्न गर्न थालेका छन् । वि.सं २०५४ साल असोज २० गतेदेखि प्यूठानमा सडक डिभिजन कार्यालय स्थापना भएको हो ।