सेन्टर व्यवस्थापनका लागि प्यूठान नगरपालिका ले १० लाख रुपैयाँ र बाँकी प्यूठानका स्थानीय सरकारले २÷२ लाख सहयोग गर्ने प्रतिबद्धता जनाएको जिल्ला कोभिड –१९ संकट व्यवस्थापन केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी गराए ।
- प्यूठान : प्यूठानको विजुवारमा संचालित जिल्ला स्तरीय आईसोलेशन सेन्टरमा उपचार पछि निको हुनेको संख्या दिनहुँ थपिदै गएको छ । गएको शुक्रबार ३ जना, शनिबार ४ जना तथा आज (आईतबार) ६ जनाले कोरोना जितेर घर फर्किएको जिल्ला आईसोलेशन व्यवस्थापन समितिका संयोजक एवं प्यूठान नगरपालिका प्रमुख अर्जुनकुमार कक्षपतिले जानकारी दिए ।
‘निर्माण व्यवसायी संघको भवनमा रहेको आईसोलेशनबाट १३ जना कोभिड बिरामी उपचारपछि घर फर्किए’,कक्षपतिले भने,‘मृत्युदर पनि घट्दो क्रममा छ ।’ प्यूठान अस्पताल तथा नगरपालिका क्षेत्र भित्र रहेका स्वास्थ्य जनशक्ति आईसोलेशन सेन्टरमा खटिएको उनले बताए । सेन्टरमा आलोपालो प्रणाली मार्फत स्वास्थ्य जनशक्ति व्यवस्थापन गरिदै आएको छ । ‘आजबाट माण्डवी र ऐरावती गाउँपालिकाबाट २÷२ जना स्वास्थ्य जनशक्ति खटाएका छौं’,कक्षपतिले भने,‘डाक्टर सहित बाँकी प्यूठान अस्पतालबाट स्वास्थ्यकर्मीको टिम खटिनु भएको छ ।’
आईसोलेशन संचालन तथा व्यवस्थापन गर्न प्यूठानका बाँकी ८ वटै स्थानीय तहका उप–प्रमुखहरू सदस्य रहनेगरि समिति बनाइएको छ । आईसोलेशनमा अहिले २४ जना कोभिड विरामीको उपचार चलिरहेको छ । ऐरावती, नौबहिनी, माण्डवी गाउँपालिका र प्यूठान नगरपालिका भित्रका बिरामीहरूको उपचारका लागि यहाँ विरामी छन् ।
सेन्टर मार्फत प्यूठान अस्पताल आउने विरामी तथा जिल्ला भित्रबाट आउने लक्षण सहितका बिरामीहरूलाई प्रारम्भिक चेकजाँच, उपचार तथा परामर्श समेत दिईदै आएको छ । सेन्टर व्यवस्थापनका लागि प्यूठान नगरपालिका ले १० लाख रुपैयाँ र बाँकी प्यूठानका स्थानीय सरकारले २÷२ लाख सहयोग गर्ने प्रतिबद्धता जनाएको जिल्ला कोभिड –१९ संकट व्यवस्थापन केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी गराए ।
जिल्लामा आजबाट एन्टीजोन किट मार्फत थप परिक्षणलाई अघि बढाईएको छ । एन्टीजिन किट अभाव हुँदा जिल्लामा केहि दिन परीक्षण अवरुद्ध भएको थियो । ‘५ सय थान एन्टीजिन किट आएको छ’,प्रमुख जिल्ला अधिकारी भुसालले भने, ‘प्युठान अस्पतालले खरिद गरी ल्याएको हो । स्थानीय तहले पनि धमाधम किट खरिद गरिरहेका छन् ।’ अब समुदाय स्तरमा पनि परिक्षणले तिब्रता पाउने उनले बताए ।
जिल्लामा हालसम्म कोभिडबाट ३३ जनाको ज्यान गएको छ भने कुल सक्रिय संक्रमितको संख्या ६ सय ७१ जना पुगेको छ । ४० जना सामान्य उपचारमा रहेका छन् । होम आईसोलेशनमा ६ सय ३१ जना रहेको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । तयारी बेड १ सय ८३ तथा अक्सिजन सिलिन्डरको संख्या २ सय ४ पु्याइएको उनले बताए ।
साविक स्वास्थ्य कार्यालय भवनमा थप २५ बेडको तयारीलाई अन्तिम चरणमा पु्याइएको प्रमुख भुसालले जानकारी गराए । जटिल प्रकृतिका कोभिड विरामीको यहाँ उपचार र एक्सरे मेसिन समेत यहाँ जडान गरिएको छ ।