विचार
‘तीन तहका सरकारले नै आफूसँग भएको स्रोत साधन परिचालन गर्नुपर्छ । भएको बजेट खर्च गर्नुपर्छ । अन्य विकासमा विनियोजन गरिएको बजेट रकमान्तर गरेर भएपनि कोभिडमा खर्च गर्नुपर्छ । त्यसले पुगेन, विनियोजन बजेट सकियो, राज्यको ढुकुटी सकियो भने मात्र नागरिकसँग हारगुहार गर्नुपर्छ । तर, शुरुवाती चरणमा नै नागरिकसँग पैसा माग्नु यो सरकारप्रति नागरिकहरुको आशा र भरोसा टुट्नु हो ।’
विश्व मानव समुदाय कोभिड–१९ को महामारीबाट आक्रान्त भएको बेला प्यूठान पनि अछुतो रहने कुरै भ्रन । जिल्लामा अहिले सम्म ३१ जनाले ज्यान गुमाएका छन् भने करिब ६ सय सक्रिय संक्रमित छन् । कोरोना परिक्षण समुदायस्तरमा प्रवावकारी बन्न सकेको छैन । एन्टीजोन किटको चरम अभाव छ । केन्द्र तथा प्रदेशमा माग गरिएता पनि हालसम्म आउन सकेको छैन । किट आउने आशामा बसेका स्थानीय सरकारहरूले भने पछिल्लो समय एन्टीजोन किट खरिद गर्न थालेका छन् । ग्रामीण क्षेत्रमा यस किट मार्फत तुरुन्तै कोरोना परिक्षण हुने हुँदा यसको माग तथा प्रभावकारिता बढेको छ ।
जिल्लामा कोभिड नियन्त्रण रोकथाम तथा उपचार गर्न हाम्रा नजिकैका सरकार लागि परेको नै देखिन्छ । स्वास्थ्यकर्मी जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी सबै एकसाथ लागेका छन् । प्यूठानमा सिंगो जिल्लाकै अपनत्व हुने गरी जिल्ला स्तरीय आईसोलेशन सेन्टरको संचालन गरिएको छ । अहिले २४ जना कोभिड बिरामीहरूको उपचार चलिरहेको छ । दैनिक निको भएर घर जानेको संख्या आईसोलेशन संचालन तथा व्यवस्थापनमा अलि बढी प्यूठान नगरपालिकाको सम्पूर्ण टिम खटिएको सहजै देख्न बुझ्न महसुस गर्न सकिन्छ । आईसोलेशन सेन्टरलाई व्यवस्थित गर्न प्यूठानका ९ वटै स्थानीय सरकारको भूमिका बराबर र सक्रिय सहभागिता हुनै पर्छ तर त्यसो हुन नसकेको गुनासो सुनिदै आएको छ ।
बिजुवारमा संचालित आईसोलेशन सेन्टरलाई व्यवस्थित गर्न जिल्लाका सबै स्थानीय तहले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् तर व्यवहारमा प्युठान नगरपालिका बाहेक बाँकी स्थानीय सरकारले अहिले सम्म कुनै सहयोग नगरेको पाईएको छ यो दुखद् पक्ष हो ।
शुरुको चरणमा प्युठान नगरपालिकाले आफ्नो कोरोना विपद् कोषबाट १० लाख रुपैयाँ छुट्याएको छ बाँकी ८ वटा स्थानीय सरकारले २÷२ लाख दिने निर्णय गरिएको थियो तर रकम उपलब्ध उनीहरूले अहिलेसम्म नगराएको आईसोलेशन सेन्टर व्यवस्थापन समिति संयोजक तथा प्युठान नगरपालिका नगरप्रमुख अर्जुनकुमार कक्षपतिले गुनासो गरेका छन् । गत वर्ष पनि केहि स्थानीय सरकारले प्रतिबद्धता गरेको रकम नदिएको उनको गुनासो छ ।
बिजुवार बजार नजिकै रहेको निर्माण व्यवसायी संघको भवनमा सबै जिल्लाबासीलाई पायक पर्नेगरी जिल्ला स्तरीय पहुँचका लागि आईसोलेशन सेन्टरको संचालन गरिएको हो । आईसोलेशन संचालन तथा व्यवस्थापनको निर्णय जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रमा रहने सबै स्थानीय सरकार प्रमुख, सरोकारवाला निकायले गरेको हो ।
तर यसको व्यवहारिक कार्यान्वयनमा किन जटिलता उत्पन्न भएको छ त ? की प्युठान नगरपालिकाको मात्रै ठेक्का हो त ? प्रश्न गंभीर छ । प्यूठानमा केही दिन अघिबाट अक्सिजन आपूर्तिका नाममा नागरिक स्तरबाट सहयोग रकम जम्मा हुन थालेको छ यसलाई कुनै कोणबाट पनि सकारात्मक मान्न सकिएन । तर वास्तविकता यसो भने होइन । किन भने एतिबेला रकम अभाव नभएर अक्सिजन कै अभाव हो । पछिल्ला दिन के–कस्ता आउने हुँन यसको लेखाजोखा कसैले गरेको छैन । अहिले बाटै नागरिक स्तरबाट रकम जम्मा गरिनु वा उनीहरुलाई प्रोत्साहित गर्नु अहिलेको आवश्यकता होईन ।
प्रथमत : तीन तहका सरकारले नै आफूसँग भएको स्रोत साधन परिचालन गर्नुपर्छ । भएको बजेट खर्च गर्नुपर्छ । अन्य विकासमा विनियोजन गरिएको बजेट रकमान्तर गरेर भएपनि कोभिडमा खर्च गर्नुपर्छ । त्यसले पुगेन, विनियोजन बजेट सकियो, राज्यको ढुकुटी सकियो भने मात्र नागरिकसँग हारगुहार गर्नुपर्छ । तर, शुरुवाती चरणमा नै नागरिकसँग पैसा माग्नु यो सरकारप्रति नागरिकहरुको आशा र भरोसा टुट्नु हो ।
अहिले नै स्थानीय सरकार रित्तिएका छैनन् यो बेला नागरिक आफैपनि रोग र आर्थिक अवस्थाबाट थला परेको बेला नागरिक तहबाटै रकम संकलन गर्ने कुरालाई कसैले पनि प्रोत्साहित नगरौं । जिल्लाको आईसोलेशन सेन्टर हामी सबैको हो, यसको संचालन तथा व्यवस्थापन गर्ने जिम्मेवारीबाट कुनैपनि स्थानीय सरकार नागरिक सरोकार समाज पन्छिन पाउँदैनन् । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनबाट सिंगो विश्व मानव समुदाय, शक्ति राष्ट्रहरू कोरोनाको अगाडि आत्मसमर्पण गरेका छन् ।
हाम्रा स्थानीय सरकारहरुले पनि निश्चित मात्रामा आईशोलेसन सेन्टरको स्थापना गरेका छन्। तर समग्र रूपमा स्वास्थ्य सामाग्री, स्वास्थ्य जनशक्तिको पहुँच पुग्दैन र उपचार रोकथाम तथा नियन्त्रण सोचें जस्तो प्रभावकारी बन्दैन । यतिबेला मौसममा आएको परिवर्तनसँगै गाउँघरमा मौसमी रुघाखोकी लाग्ने टाउको दुःख्ने, ज्वरो आउने आदि लक्षण देखा परेका छन् । हामीले गाउँघरमै गएर स्थानीय जनताको अवस्था उनीहरूको भोगाई, अनुभवलाई नजिकबाट बुझ्ने अवसरको खोजी पनि गर्नुपर्दछ जस्तो लाग्दछ ।
स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिको संयुक्त टोलीले आईशोलेशन सेन्टरमा नगईकन घरमै सामान्य औषधि मुलोबाटै निको हुने विरामीलाई लक्षित गर्दै गाउँघरमा जाने चेकजाँच गर्ने वातावरणको माहोल सिर्जना गरौँ ।
‘जसो पर्यो राती, उसी बुढी ताती’ उक्ति लाग्ने गरि हाम्रा योजना बन्नु हुँदैन । हरियो तन्नाले ढाकेका १५÷२० वटा बेड तयारी गर्दैमा सबै तयारी पुगेको नठानौ । सम्भावित जोखिमबाट बच्न समयमै ठोस योजना सहित अबको बजेट जनस्वास्थ्यलाई केन्द्रमा राख्दै उच्च प्राथमिकताका साथ बनाउन स्थानीय सरकारको ध्यान जानेछ र जानु पनि पर्छ । नागरिकको जीवन रक्षाका लागि सबै क्षेत्रबाट सकारात्मक तथा रचनात्मक सल्लाह सुझाव तथा सहयोग अहिलेको आवश्यकता हो ।
राज्यका संयत्रहरुले गरेको प्रयास र रोकथामका क्षेत्रका गतिविधिलाई नजिकबाट नियालौँ । गरेको असल अभ्यासलाई सवैले साथ र सहयोग गरौँ । काम गर्ने निकायलाई हतोत्साहित होइन्, उत्सासहित बनाएर कोरोनालाई सवै मिलेर भगाउँ । यसैमा नै तपाई हामी सवैको हित हुन्छ ।