प्यूठान : प्यूठानमा हालसम्म १ हजार २ सय ४५ जनाले कोरोना जितेका छन् । जिल्लामा पहिलो चरणको कोरोना संक्रमण शुरु भएदेखि हालसम्म उक्त संख्यामा कोरोना जित्नेहरुको तथ्यांक देखिएको छ । जिल्लाभरी अहिलेसम्म पिसीआर परिक्षणबाट ६ हजार ८ सय २६ जना र एन्टीजिन किट मार्फत १ हजार ६ सय ४५ जना गरी कुल ८ हजार ४ सय ८० जनाको कोरोना परिक्षण गरिएको छ ।
परीक्षण गरिएकाहरुमध्ये १ हजार ८ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय प्यूठानका सूचना अधिकारी एवं जनस्वास्थ्य अधिकृत पुष्कल प्रसाद श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार बुधबार सम्म जिल्लामा ५ सय ४५ जना सक्रिय संक्रमित छन् । कोरोनाबाटै ३१ जनाको मृत्यु भएको छ ।
जिल्लाका विभिन्न क्षेत्रका २२ जना कोरोना संक्रमितको आइशोलेसनमा राखेर उपचार भइरहेको छ । १९ जनाको जिल्ला स्तरीय आईशोलेशन सेन्टर विजुवार र ३ जनाको माण्डवी गाउँपालिकाको आईसोलेशन सेन्टरमा उपचार चलिरहेको छ । माण्डवी गाउँपालिकामा अक्सिजन अभाव भएपछि मंगलवार साँझ चार जना कोरोना संक्रमित बिरामीलाई जिल्ला आईसोलेशनमा सारिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख धुर्बकुमार पोखरेलले जानकारी गराए । बिरामीको स्वास्थ्य अवस्था गम्भिर भएपछि बिजुवार पठाइएको उनले बताए । गाउँपालिकाले भर्न पठाएका खाली अक्सिजन सिलिन्डर बुधवार साँझसम्म आइपुग्ने उनले जानकारी दिए ।
जिल्लामा कोरोना परिक्षण प्रभावकारी बनाउन सरोकारावालाको सम्वन्यमा काम भइरहेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए । उनले आइशोलेसनमा संक्रमित विरामीहरुलाई ल्याउन नपरेको र ल्याउने अवस्था भएमा अक्सिजन सहितको बेड तयारी अवस्थामा राखिएको जानकारी गराए । उनले प्यूठानबासीको स्वास्थ्यसँग सरोकारावाला निकायहरु जोखिम मोलेर फिल्डमा खटिएको बताए ।
पाँच हजार थान एन्टीजिन किट तथा १ सय थान अक्सिजन सिलिन्डर थप माग गरिएको जानकारी गराए । केही स्थानीय तहहरुले एन्टीजिन किट आफै खरिद गरेर परिक्षण गरेका छन् । प्रदेस तथा संघीय स्वास्थ्य मन्त्रालय तथा जिल्लाबाट प्रतिनिधित्व गर्ने विभागिय मन्त्रीहरुलाई डीसीसीएमसीको बैठकबाट गरेका निर्णय सहित अनुरोध गरिएको गराएको प्रमुख जिल्ला अधिकारी भुसालले बताए ।
‘हामीले सहयोग पाउने आश्वासन पाएका छौं’,भुसालले भने, ‘जिल्लामा १ सय १ थान अक्सिजन सिलिन्डर व्यवस्थापन भइसकेको छ, कोरोना हाम्रो नियन्त्रण देखि बाहिर छैन ।’ कोरोना रोकथाम, उपचार तथा नियन्त्रण गर्न जिल्ला स्तरीय ८८ बेड क्षमताको आईशोलेशन बेड तयार भई उपचार समेत शुरु भएको छ । थप ५० बेडको आईसोलेशन सेन्टर बनाउन सरोकारावाला निकाय लागिपरेको भुसालले बताए ।
जिल्ला स्तरीय आइशोलेसन व्यवस्थापन समितिका संयोजक एवं प्यूठान नगरपालिका नगरप्रमुख अर्जुन कुमार कक्षपतीले नगरपालिका र प्यूठान अस्पतालका गरी डाक्टर सहित १२ जना स्वास्थ्यकर्मीको टोली खटेको जानकारी गराए । प्यूठान नगरपालिकाले आइशोलेसन केन्द्रमा १० लाख र सवै अन्य स्थानीय तहले दुई÷दुई लाख रुपैँया सहयोग संकलन जारी रहेको बताए ।
जिल्लाका विभिन्न संघ संस्था र व्यक्तिहबाट अक्सिजन सहयोग गर्ने क्रम जारी रहेको उनले बताए । दुई दुई पटकको महामारीबाट सिकेको पाठले अवका नीति बजेट तथा कार्यक्रमहरु जनस्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राखेर विनियोजन गर्नुपर्ने कक्षपतीले आग्रह गरे । प्यूठान उद्योग वाणिज्य संघका अध्यक्ष केदारमान कक्षपतीको संयोजकत्वमा जिल्लामा अक्सिजन आपूर्ति व्यवस्थापन समिति गठन भएको छ ।