संसार देखाउने मेरी आमा !
मलाइ यस धर्तीमा पाइला टेकाइ नाना ताते सिकाउने मेरी आमा !
मलाइ माया, स्नेह, अनुशासन, हिम्मत र सद्भाव सिकाउने मेरि आमा !
दिनभरी गोरु चराउँदा साथिहरुँसग गुच्छा, खोपी अनि भुरुङ् नचाउँने खेलखेली साँझपख गोरु ल्याइ घर फर्कदा तिमिले छोरा भोकायोकी भनेर बनाएको मकैको रोटी र खलीको अचार खाएको त्यो पल अझै पनि झलझली मेरो मानसपटलमा आइरहन्छ आमा ।
खै म कहाँबाट शुरु गरौँ । मेरी आमा आज तिम्रो मुख हेर्ने दिन रहेछ । केही शब्द हरु नै मनबाट फुट्न सकेको छैन् । आजसम्म आमाको मुख हेर्ने दिनमा सामाजिक सञजालहरुमा मेरी आमालाई मुख हेर्ने दिन भनेर शुभकामना पनि नदियको अभागी कान्छो छोरो म ।
तर, आज आमा अनि बाबाको सार्है याद आयको छ । सायद म दुःखमा अनि बिरामी भई बेडमा थलियर होला । यति धेरै सम्झना आएको । मान्छेको स्वभाव स्वार्थी हुन्छ भन्छन, आफू अप्ठ्यारोमा पर्दा मात्र सम्झने सुखको बेला आफ्नै संसारमा रमाउने प्रवृति सायद म मा पनि त्यो स्वभाव हुनसक्छ ।
आमा आज तिम्रो शरिर भौतिक रुपमा हाम्रो सामु नभए पनि त्यो बिहानीपख उदायको सूर्यको किरण जस्तै चम्किलो तिम्रो मुहारलाई मन–मस्तिष्कमा ग्रहण गर्दै तपाईंले निःशुल्क रुपमा दिनु भएको मेरो यो स्वर्गको टुक्रा भन्दा पनि प्यारो जिन्दगीलाई असल बाटोमा हिड्न, सामाजिक कार्य गर्न, अन्यायको बिरुद्धमा बोल्न, युबाहरुको मुक्तिका लागि लड्न, बर्गिय बिभेद अन्त्य गर्न, जातिय बिभेदको निशानी मेटाउन लगायत समाजमा भएका अनेकन कुरितिका बिरुद्द आवाज बुलन्द बनाउनु अहिलेको अनिवार्य आबश्यकता हो ।
अनि त्यसलाई पुरा गर्न लाग्नु मेरो जिम्मेवारी र कर्तब्य हो । त्यस कार्य पुरा गर्नुका लागि मेरो मनोबल उच्च बनाउनु आवश्यक छ । यो बिरामी भएको कमजोर मनोबललाई शक्तिमा बदल्न सक्ने उर्जा हो आमा शब्द । र तिमिसँग बिताएको पल याद गर्दा संसार जित्ने आँट जोश आउछ आमा म मा ।
त्यस कारण यिनै सार्बजानिक हितको स्वार्थ पूर्ति गर्नका लागि आज अत्यन्तै भावुक भयर बिरामिको बेड बाट मेरो अबिभाबक आमा–बाबालाई सम्झिएर स्वार्थी बन्दै छु उर्जावान बन्दैछु ।
मैले तिमि बिनाको हाम्रो घर सुनसान मानेको छु । साँच्चै म जन्मिना साल असार साउन ताका बाबाले तीपटक भत्कदा पनि हिम्मत नहारी बनाएको त्यो सानो घर हामी छ जना छोराछोरी बाबा–आमा अनि बाजे–बज्यै गरि दश जना परिवार बस्दा कति रमाइलो हुन्थ्यो है ? एकै पटक खाना खाने बेला थाल बटुका पुग्दैनथ्यो । खाँदाखाँदै दाल तरकारी सकिन्थ्यो । अनि मलाइ आज झैँ लाग्छ त्यो दिन हाम्रो बुढो गौथले गोरु र जति खुवाए पनि नमोटाउने दुब्ले गोठे गोरु लगेर गोठाली गएको मजुवा बन ।
हडा बन, बिसरे माथि बन, अनि पार्थुवा फाँट अनि, दिनभरी गोरु चराउँदा साथिहरुँसग गुच्छा, खोपी अनि भुरुङ्ख नचाउँने खेलखेली साँझपख गोरु ल्याइ घर फर्कदा तिमिले छोरा भोकायोकी भनेर बनाएको मकैको रोटी र खलीको अचार खाएको त्यो पल अझै पनि झलझली मेरो मानसपटलमा आइरहन्छ मेरि आमा । त्यसका बाबजुद पनि हामी हासीखुसी रमाउँदै दुःख, सुख झेल्दै अगाढी बढ्न र जिन्दगीमा हरेक समस्यासँग लड्न जुध्न अनि जित्न सिकाएर अल्पाआयुमै हामीलाई छाडेर गयौँ आमा ।
तिमी सामान्य आमा हुदै होइनौँ । ३० बर्षको छोरोलाई जनताले पत्याएर सम्मानित पदमा बिजयको माला र अबिर लगाउने छोरो जन्माएर सोहि अनुसार वातावरण तयार पारी छोरालाई मैदानमा भिडाउन सक्ने महान हौँ मेरी आमा । जिन्दगी न हो जस्तोसुकै दुःख, कष्ट आँधीबेहरी आए पनि चित्त त बुझाएर अगाडि बढ्नुपर्दोरहेछ आमा । संसारको रिती नै यस्तै रहेछ सँगसँगै जान नसकिदो रहेछ आमा ।
कति खुसीसाथ हामीले तपाइँहरुसँग अमूल्य समय बितायौँ । सम्झदा नि आनन्द लाग्छ यस्तो लाग्छ किनेर पाउने भए त्यो क्षण मेरो सबथोक सुम्पेर तपाइँसँग बस्ने इच्छा प्रकट गर्दथे आमा । तर अहिले मैले बनाएको घर त भब्य नै छ तर मेरो मन कहिले प्रसन्न भएको छैन । छोराले गरेको प्रगती बाबा आमालाई देखाउन नपाउनु र छोराको अधिकतम खुशिमा आमा बाबा साथमा नहुनु भनेको छोराको लागि दुर्भाग्य यो भन्दा अरु के हुदो रहेछ र आमा ?
मेरो जे जति प्रगती भएपनि त्यो अँधुरो हुने मैले मेरो अन्तर आत्माबाट महशुस गरिरहेको छु आमा । र त सम्झन्छु ति पुराना तिमि सँगसँगै बिताएका स्वर्णिम पल अनि बाबाले बनाएको घरमा कत्ति खुशि हुन्थेउ हामी । खाटमा सुत्न नपाएर रिसाउँदै भुईमा कम्मल ओछ्याएर सुतेको त्यतिबेला रिस उठेको अहिले सम्झँदा आनन्द आउने पल अहिले त आमा ति खाटहरु नै एक्लै सुत्छन । अनि ति खाटहरुले सोध्छन् मलाइ कहाँ गए यो घर का त्यत्रा मान्छे पहिले म सँग सुत्नलाई झगडा गर्थेउ अहिले त यो घर सुनसान हुन्छ भनेर ?
अनि मैले अक्मकिदै उत्तर दिन्छु बाबा–आमा,बाजे बज्यै दिन नपुग्दै हामीलाई छाडेर स्वर्गमा जानु भो । चेलिबेटीहरु कर्म घरमा आफ्ना–आफ्ना भाग्य रेखा कोरिरहेका छन् । दाजुहरु आफ्नो र छोराछोरीको भबिष्य उज्वल बनाउनका लागि शहर पस्या छन् । मेलो मेसोमा आउँछन चिन्ता नगर म छु नि घरको कान्छो छोरा अनि बा–आमा, दिदी बहिनीले छानेर ल्याइदिएको मेरो जीवन संगिनी कान्छि अनि हाम्रा छोराछोरी घर भरिभराउ बनाउन र गाउँघर उज्यालो बनाउन भनेर भनेको छु आमा ।
आज आमाको मुख हेर्ने पबित्र दिन मलाई बिश्वास छ । तपाई र बाबाको भेट अबश्य स्वर्गमा हुनु भयो होला । अनि सुखि हुनुहुन्छ होला भन्ने आशा अनि कामना गर्दछु आमा । यस अबसरमा अन्तरात्मादेखि हजुरको पाउँमा मेरो शिर चरण गर्दै यो बाँचा गर्छु कि तिम्रो आँखा भरिका कलेसहरु छोराछोरी नाति–नातिनीको बारेमा कत्ति पनि चिन्ता नलिनु होला उनिहरुलाइ दुःख सुखमा साथ दिने सम्मानित हैसियत मैले पनि बनाइसकेको छु । सहयोग गर्दै आएको छु भोली पनि गर्नेछु । तिमिले छाडेर गए पनि चेलीबेटि इस्टमित्रलाई कहिले पनि सानो मन बनाउन र तिमि नभएको महशुस हुन दिने छैन ।
अनि तिमिले यस धर्ति छाडेर गए पनि तिम्रो नाम यस धर्तिमा कहिले नमेट्ने गरि गाउँ समाजमा सामाजिक काम गरि तिम्रो नाम अमंर राख्ने प्रण गर्दै आमाको मुख हेर्ने दिनको मेरी स्वर्गिय आमालाई मुटुभरीको माया र शुभकामना दिन चाहान्छु ।
उही तपाइको कान्छो छोरो
श्रीधर रोका (काले)
माण्डवी गाउँपालिका ५ रम्दी तिघ्राठाँटी
(हाल : अध्यक्ष, माण्डवी गाउँपालिका, प्यूठान)