प्यूठान : जिल्लामा एन्टीजिन किटको अभाव हुन थालेको छ । जिल्लामा आएको २ हजार २ सय किट मध्ये शनिबारसम्म १ सय किट मात्र मौज्दात रहेको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका निमित्त कार्यालय प्रमुख मधुसुदन खडकाले जानकारी दिए । ५ हजार किट प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रमा माग गरेपनि अझै आइनसकेको उनले बताए ।
एन्टीजिन किट अभावकै कारण जिल्लामा कोरोना परीक्षण दर खुम्चाईएको स्वास्थ्य कार्यालय प्यूठानका कोरोना फोकल पर्सन पुष्कल श्रेष्ठले बताए । जिल्लाका केहि स्थानीय तहहरूले भने एन्टीजिन किट खरिद गर्न सुरसार गरेका छन् ।
ऐरावती गाउँपालिकाले ३ सय थान एन्टीजिन किट खरिद गर्ने निर्णय गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बालगोपाल श्रेष्ठले जानकारी दिए । ‘जिल्लाबाट आएको किट मध्ये ५०÷६० थान किट मात्रै स्टक छ’, श्रेष्ठले भने, ‘दैनिक २०÷२५ किट आवश्यक पर्छ ।’ किट अभावकै कारण परीक्षणको दायरालाई फराकिलो बनाउन नसकेको उनको गुनासो छ ।
माण्डवी गाउँपालिकाले १ सय थान एन्टीजिन किट खरिद गरिसकेको स्वास्थ्य शाखा प्रमुख धुर्ब कुमार पोख्रेलले जानकारी दिए । उनले स्वास्थ्य कार्यालयबाट आएको २ सय किट सकिएको बताए । भ्याट बाहेक एक हजार पचास रुपैयाँमा खरिद गरिएको उनको भनाई छ ।
मल्लरानी गाउँपालिकामा पनि एन्टीजिन किट मार्फत कोरोना परीक्षणको दायरालाई प्रभावकारी बनाउन नसकिएको स्वास्थ्य शाखा प्रमुख पारस शाहीले बताए । उनका अनुसार ४० थान मात्र किट मौज्दात छ । परीक्षण गर्नैपर्ने विरामीलाई मात्र किट मार्फत कोरोना परिक्षण गरिएको उनले बताए । ५ हजार एन्टीजिन किट तथा १ सय थान अक्सिजन सिलिन्डरको माग गरिएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए ।
के हो एन्टीजिन किट परिक्षण ?
कोरोना भाईरसको बाहिरी सतहमा हुने एक प्रकारको प्रोटिनमा एन्टीजिन किट मार्फत कोरोनाको जाँच गरिन्छ । स्वास्थ्यकर्मीहरुका अनुसार आरटी पीसीआर विधिमा भने कोरोना भाईरसको भित्रि जिनमा परीक्षण गरिन्छ ।
प्रयोगशाला नचाहिने एन्टीजिन परीक्षण विधिमा एकैपटक धेरै जनाको परीक्षण गर्न सकिन्छ भने यसको परिक्षणले १५÷२० मिनेटमै रिपोर्ट आउने स्वास्थ्यकर्मी बताउँछन् । कोरोना संक्रमितको सम्पर्कमा आएका मानिसहरूमा एन्टीजिन परीक्षणको नतिजा नेगेटिभ आएपनि पिसीआर जाँच गर्नुपर्ने स्वास्थ्यकर्मीहरू बताउँछ्न । यस परीक्षण विधिमा स्वास्थ्यकर्मीहरु समेत जोखिममा पर्ने सम्भावना न्यून हुने गर्दछ ।
एन्टीजिन विश्वका विकसित मुलुक जर्मन युएसए तथा छिमेकी राष्ट्र भारतमा बढ्दो प्रयोग गरिएको पाईन्छ । यस किटलाई विश्व स्वास्थ्य संगठन र यूएसएफडिएले समेत मान्यता दिईसकेको स्वास्थ्यकर्मीहरुको भनाई छ ।