दुर्गालाल केसी
अध्यक्ष
नेपाल पत्रकार महासंघ, दाङ शाखा
दाङका १० जना सञ्चारकर्मीहरु कोरोना संक्रमित भएका छन् । कोरोना संक्रमणबाट एक जना पत्रकारको ज्यान गइसकेको छ भने अर्का एकजना आइसीयूमा उपचार गराइरहेका छन् । कोरोना महामारीका बेला पनि पत्रकारहरु फ्रन्टलाइनमा रहेर आफ्नो नियमित कामा गरिरहेका छ । यस्तो अवस्थामा सञ्चारकर्मीहरुको सुरक्षाका लागि राज्यको दायित्व के हुन सक्छ ? भनेर पत्रकार पाण्डव शर्माले पत्रकार महासंघ, दाङ शाखा अध्यक्ष दुर्गालाल केसीलाई प्रश्न गरेका छन् । महामारीमा पत्रकारहरुको सुरक्षाका लागि महासंघल गरेको पहल, पत्रकारहरुका समस्या, पत्रकारिताका चुनौति लगायतका विषयमा केन्द्रित रहेर केसीसँग गरिएको कुराकानिको सार :
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसले आम जनतालाई प्रभावित बनाएको छ । महामारीको बेलामा फ्रन्टलाइनमा रहेर खट्ने सञ्चारकर्मीहरु पनि महामारीबाट निकै प्रभावित भएका छन् । दाङमा नेपाल पत्रकार महासंघले महामारीको बेला पत्रकारहरुको सुरक्षाका लागि संस्थागतरुपमा के पहल थालेको छ ?
कोरोना महामारीले पत्रकारहरुलाई धेरै असर गरेको छ । लडकडाउनको समयमा पनि पत्रकार साथिहरु घरभित्र बसिरहन पाउनुभएको छैन । रिपोर्टिङका लागि ठाउँठाउँमा जानुपर्ने बाध्यता छ । फिल्डमै गएर भिडियो र फोटो खिच्नुपर्ने हुन्छ । फिल्डमा खट्दा खट्दै सञ्चारकर्मीहरु संक्रमित हुनुपरेको छ । दाङमा हालसम्म १० जना पत्रकार साथिहरु कोरोना संक्रमित हुनुभएको छ । त्यसमध्ये एक जना साथि साह्रै गम्भिर पनि हुनुहुन्छ । एक जना पत्रकार साथिको कोरोना संक्रमणबाट ज्यान गएको छ । पत्रकार साथिहरु संक्रमित हुँदा उपचारका लागि बेड पाउन गाह्रो भएको छ । कपिय डेरामा बस्ने साथिहरुलाई संक्रमित भएका कारण घरमा बस्न समस्या भएको छ ।
हामीले त्यस्ता सञ्चारकर्मीहरुलाई अप्ठेरो नहोस् भनेर पत्रकार महासंघकै भवनमा आइसालियसन तयार पारेका छौं । यो आइसोलियसनमा डेरा बस्ने साथिहरु जो संक्रमित भएकै कारण त्यहाँ बस्न असहज हुन्छ उहाँहरुलाई व्यवस्थापन गर्छौं । तत्काल अस्पतालमा वेड नपाउने र अक्सिजन आवश्यक पर्ने साथिहरुलाई यहाँ राखिन्छ । अक्सिजनसम्म चलाउ सक्ने अवस्थामा हामीले यहाँ राख्छौं । अलि गम्भिर भएको खण्डमा हामीले अस्पताल पु¥याउँछौं । त्यसैगरी हामीले संक्रमित भएका साथिहरुलाई अहिले दिनदिनै फलोअप गरिरहेको छौं ।
मैले आँफै पनि ती साथिहरुलाई टेलिफोन गरेर स्वास्थ्य अवस्थाको बारेमा बुझ्ने काम गरिरहेको छु । एक जन गम्भिर हुनुभएको साथिलाई भैरहवा मेडिकल कलेजमा पठाएका छौं । अरु साथिहरु होम आइसोलियसनमा स्वास्थ्य लाभ गरिरहनुभएको छ । धेरै साथिका परिवारहरु पनि संक्रमित हुनुभएको छ । पत्रकार साथि बाहिर रिर्पोटिङमा हिड्दा संक्रमित हुने र परिवारमा संक्रमण सर्ने समस्या देखिएको छ । अहिले ६ बेडेको आइसोलियसन छ । आवश्यकता अनुसार हामीले यसलाई थप गर्दै जाने छौं ।
पत्रकारहरुलाई संक्रमित भइसकेपछि कसरी उपचार गर्ने भनेर पनि हामीले छलफल चलाएका छौं । हामीसँग आर्थिक स्रोत केही पनि छैन । हामीले विभिन्न क्षेत्रमा सहयोगका लागि आग्रह गरेका छौं । पत्रकार कोरोना सहायता कोष भनेर सञ्चालन गरेका छौं । विभिन्न क्षेत्रमा सहयोगका लागि आवह्वान गरेका छौं । केही साथिहरुले सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ । आइसोलियसन सञ्चालनका लागि आवश्यक पर्ने अक्सिन, स्वास्थ्य सामाग्री, स्वास्थ्यकर्मी र खाने व्यवस्थाका लागि पनि विभिन्न क्षेत्रबाट सहयोगका आश्वासन प्राप्त भएको छ । हामीले एक÷दुई दिन भित्रै आइसोलियसनलाई पूर्ण रुपमा सञ्चालनमा ल्याउने तयारी गरेका छौं ।
आइसोलियसनमा उपचारको कस्तो प्रवन्ध रहेको छ ?
हामीले सबै उपचार यहाँ नै गर्न सक्ने अवस्था नहुन सक्छ । हामीले मध्यमखालका बिरामी उहाँहरुलाई आइसोलियसनमा बसाल्न सक्छौं । अक्सिजन दिएर उपचार गर्न सकिने अवस्था सम्मको लागि हामीले यहाँ राख्छौं । डाक्टर, नर्श र अन्य स्वास्थ्यकर्मीहरु यहाँ उपलब्ध हुनुहुन्छ । संक्रमित सञ्चारकर्मीहरुलाई आइसीयू नै चाहिने अवस्था आयो भने अन्यत्र रिफर गर्छौं । सामान्य अवस्थामा हामीले यहाँ नै उपचार गर्छौं । अहिले बिरामी भए लगत्तै तुरुन्त अस्पतालमा बेड पाउन सक्ने अवस्था छैन । घरमै बस्दा अक्सिजनको अभावका ज्यान जाने र अस्पतालमा बेड नपाउने अवस्थामा हामीले पत्रकार महासंघको आइसोलियसन वार्डमा राखेर उपचार गर्छौं । गम्भिर हुनुभएका साथिहरुलाई कोरोना अस्पतालसँग समन्वय गरेर सजिलै साथिहरुलाई अस्पताल पु¥याउने व्यवस्था गर्छौं ।
कोरोना महामारीको जोखिमका बीच पनि सञ्चारकर्मीहरुले फ्रन्टलाइनमा रहेर काम गरिरहेका छन् । यस्तो अवस्थामा सञ्चारकर्मीहरुको सुरक्षाका लागि राज्यको दायित्व के हुन सक्छ ?
राज्यले यति बेला सञ्चारकर्मीहरुको स्वास्थ्य कसरी सुरक्षित राख्ने श्र पत्रकारहरुको खानपिनको व्यवस्था कस्तो छ ? यी विषयमा सोच्नुपर्ने हो । अहिले धेरै सञ्चारमाध्यमहरु बन्द भएका छन् । सञ्चारकर्मीहरुले रोजगारी गुमाउनुपरेको छ । यस्तो अवस्थामा सञ्चारकर्मीहरुलाई कसरी सुरक्षित ढंगले काम गर्ने वातावारण तयार गर्ने भन्ने विषयमा कतेबाट केही चासो भएको देखिदैन । सञ्चार क्षेत्र फ्रन्टलाइनमा रहेर खटि रहेको छ । उहाँहरुको सुरक्षाका लागि राज्यले ध्यान दिनुपर्दथ्यो । राज्यको तर्फबाट यी कुरामा ध्यान पुगेन कि भन्ने हामीले ठानेका छौं ।
नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष भइसकेपछि तपाईले आफ्ना कार्ययोजनाहरु पनि प्रस्तुत गर्नुभएको छ । तपाईका प्राथमिकताहरु के हुन् ?
हामीले पत्रकारहरुको क्षमता विकासका लागि धेरै कामहरु गर्ने योजना छ । पहिलो वर्षमा पत्रका क्षमता विकासका लागि तालिम वर्षको रुपमा विकास गर्ने योजना छ । विभिन्न विटको तालिम दिएर पत्रकार साथिहरुलाई खोजमुल समाचार लेखनमा प्रोत्साहन गर्ने हाम्रो योजना रहेको छ । गुणस्तरीय पत्रकारिता नै हाम्रो प्राथमिकता हो । अहिले कोरोना महामारीले हामीलाई केही डिष्ट्रब गरेको छ । महामारी कम भए लगत्तै हामी तालिमका कार्यक्रमहरु सञ्चालन गर्छौं ।
हामीले पत्रकार साथिहरुलाई लेखवृत्तिमा लगाउने सोँचेका छौं । फेलोशिप प्रदान गरेर साथिहरुलाई खोजमुलक रिर्पोटिङका लागि प्रोत्साहन गर्छौं । रिर्पोटिङका लागि सहज होस् भनेर हामीले फेलोशिप प्रदान गर्छौं । उहाँहरुले लेखेका खोजमुलक समाचारहरु पत्रकार महासंघले नै बुलेटिन प्रकाशन गरेर फिचर सेवा प्रदान गर्ने योजना बनाएका छौं । फिचर सेवाका सामग्रीहरु विभिन्न सञ्चारमाध्यमहरुले उपयोग गर्न मिल्ने गरी व्यवस्था गर्ने योजना बनाएका छौं । पत्रकार महासंघ आँफैले एउटा अनलाइन चलाउने सोँच बनाएका छौं । त्यसमा पत्रकार महासंघका गतिविधिका साथै पत्रकारहरुका प्रोफाइलहरु राखिने छ । पत्रकारहरुको समग्र गतिविधि त्यहाँबाट थाहा पाउन सकिने र सञ्चार सम्बन्धी नयाँनयाँ गतिविधि त्यहाँ राख्ने सोँच बनाएका छौं ।
पत्रकारहरुलाई राहत होस् भनेर हामीले एउटा कोष स्थापना गर्ने योजना बनाएका छौं । जोखिममा रहेका अथवा अप्ठेरोमा परेका पत्रकारहरुका लागि तत्काल त्यहीँ कोषबाट राहत प्रदान गरिने छ । त्यसैगरी जीवनभर पत्रकारिता गरेर बृद्ध अवस्थामा पुग्नुभएका जेष्ठ पत्रकारहरुका लागि निर्वाह भत्ता पत्रकार महासंघको तर्फबाट गर्ने भनेका छौं । त्यसका लागि कोष बनाउने तयारी गरेका छौं । त्यसैगरी महिला पत्रकारहरुलाई कसरी पत्रकारितामा टिकाउने भन्ने कुरा छ । पत्रकार महिलाहरुको क्षमता विकास गर्ने र उहाँहरुको सुरक्षाका लागि हामीले पहल गर्ने छौं ।
मिडिया हाउसहरुको सुरक्षा कसरी गर्न सकिन्छ भन्ने कुरा पनि छ । सञ्चार माध्यमहरुले सञ्चारकर्मीहरुलाई राम्रो सुविधा दिनकमा लागि सञ्चारमाध्यम आँफै बलियो हुनुपर्छ भन्ने हामीलाई थाहा छ । सञ्चार माध्यममा विज्ञापन कसरी बढाउन सकिन्छ भन्ने विषयमा हामीले गम्भिर भएर सोच्नुपर्छ । हामीले विज्ञापनका स्रोतहरु कसरी स्थानीयस्तरमै प्रयोग गर्न सक्छौं भनेर योजना बनाउन जरुरी छ । हामी स्थानीय सरकार, स्थानीय उद्योगी व्यवसायीहरुसँग यो विषयमा गम्भिर भएर छलफल गर्ने छौं । सम्पूर्ण स्थानीय विज्ञापन स्थानीय मिडियालाई नै दिनुपर्छ भनेर हामीले महासंघको तर्फबाट लबिङ गर्ने छौं । हामीले पत्रकारितालाई मर्यादित कसरी बनाउन सकिन्छ भनेर पनि सोँचेका छौं ।
पत्रकारितालाई कसरी विश्वसनीय बनाउने ? हाम्रा पाठक, स्रोत तथा दर्शकले हामीलाई विश्वास गर्ने वातावरण कसरी तयार गर्ने ? आचारसंहिताको कार्यान्वयन कसरी गर्ने ? हाम्रा मूल्य, मान्यताहरु के हुन् ? भन्ने विषयमा कक्षाहरु सञ्चालन गरेर पत्रकारितालाई मर्यादित बनाउने हाम्रो योजना रहेको छ । सँगसँगै अहिले समाजमा पत्रकारिता प्रति जुन खालको टिकाटिप्णी भइरहेको छ । यसलाई संवोधन गर्नका लागि पत्रकार र नागरिकबीच अन्तरसंवाद गराउने योजना रहेको छ । पत्रकारलाई समाजप्रति उत्तरदायी बनाउने र समाज पनि पत्रकारलाई सहि ढंगले बुझ्ने बनाउने हाम्रो योजना रहेको छ । पछिल्लो समय अनलाइन मिडियाप्रति समाजको धेरै गुनासो छ ।
हामीले अनलाइन पत्रकारितालाई व्यवस्थित र विश्वसनीय बनाउनका लागि पहल गर्ने छौं । पत्रकारिता नगर्ने साथिहरु पत्रकार महासंघको सदस्य हुनुभएको छ । यसले गर्दा पत्रकारिता बदनाम भएको छ । हामी त्यस्ता साथिहरुलाई बोलाएर पत्रकार महासंघको सदस्यता त्याग गर्न आग्रह गर्नेछौं । पत्रकारिता गर्ने साथिहरु सदस्यताबाट बच्ति नहुनुपर्ने र पत्रकारिता गर्ने साथिहरुले सदस्यता त्याग गर्ने वातावरण तयार गर्छौं । हामीले यसको विस्तृत कार्यायोजना बनाइरहेका छौं । हामीले अबको तीन वर्षलाई उपलब्धिमुलक बनाउने छौं ।
पत्रकारिता क्षेत्रको अहिलेको चुनौति के देख्नुहुन्छ तपाई ?
हामी पत्रकारहरुलाई पेशामा टिकिरहनका लागि मुख्य चुनौति रहेको छ । मिडिया हाउस बलियो हुन नसक्नु मुख्य समस्या हो । मिडिया हाउस सञ्चालन गरिएको छ तर, मिडियालाई कसरी दीगो बनाउने भन्ने हामीसँग केही पनि योजना छैन । व्यवस्थापकीय योजना विहिन भएका छन् हाम्रा सञ्चार माध्यमहरु । पत्रकारको भरमा सञ्चार माध्यम छोडिएको छ । पत्रकारले समाचार संकलन गर्ने हो । मिडियाको व्यवस्थापन गर्ने काम पत्रकारको होइन । पत्रकार आँफैले समाचार लेख्ने र विज्ञापन खोज्ने काम गर्न सक्दैनन् ।
मिडिया सञ्चालकहरुले व्यवस्थापकीय योजना स्पष्ट बनाउन जरुरी छ । अर्को कुरा हाम्रा सञ्चारकर्मी साथिहरु जो काम गरिरहनुभएको छ । उहाँहरुलाई आँफू त्यहाँ सुरक्षित छु भन्ने अनुभूति भएको छैन । मिडिया हाउसको दीगो पनको समस्या छ । हामीले पत्रकारिता दीगोरुपमा गर्न सक्छौं कि सक्दैनौं भन्ने चुनौति पनि छ । साथै पत्रकारहरुले काम अनुसारको पारिश्रमिक पाउन नसकेको अवस्था छ । यी समस्याले गर्दा पत्रकारितालाई व्यवस्थित बनाउन गाह्रो छ । अर्को पत्रकारिताप्रति जनताको विश्वास कसरी जगाउने भन्ने पनि छ । हाम्रो काम पनि जनताका धेरै गुनासो छ । हाम्रा वारेमा सार्वजनिकरुपमा टिकाटिप्पणी हुन्छन् । यो हाम्रो पेशाप्रतिको चुनौति हो ।
हामीले हाम्रो पेशाप्रति प्रश्न नउठ्ने गरी काम गर्नुपर्छ । हामीले जनताको चाहना अनुसार समाचार सामाग्री दिन नसक्नु पनि अर्को चुनौति हो । हाम्रा पाठक स्रोताको चाहना धेरै बढेको छ । सामाजिक सञ्जालमा जे आउँछन् हाम्रा सञ्चार माध्यममा त्यहीँ कुरा आइरहेका छन् । कमसेकम हाम्रा सञ्चार माध्यमहरुले कुनै पनि विषयबस्तुको गहिराईसम्म पुगेर सामाग्रीहरु दिन सक्नुपर्छ । मिडियामा खोज पत्रकारिताको अभाव छ । त्यसैगरी पत्रकारहरुको भौतिक सुरक्षाको कुरा पनि चुनौतिको रुपमा देखिएको छ । हाम्रो पेशामा कसरी टिकिरहने भन्ने पनि चुनौतिको रुपमा रहेको छ ।
र, अन्त्यमा आम दङ्गाली सञ्चारकर्मीहरुलाई के भन्न चाहनुहुन्छ ?
म सम्पूर्ण सञ्चारकर्मी साथिहरुलाई मर्यादित र जिम्मेवार पत्रकारिता गर्न आग्रह गर्दछु । हामीले हाम्रो कामबाट नै आम जनताको मन जित्ने हो । हामीलाई समाजले ऐना जसरी हेरिरहेको छ । हाम्रा सामाग्रीहरुले हाम्रो समाजलाई कत लैजाने भनेर दिशा निर्देशन गर्न सक्छ । म सम्पूर्ण सञ्चारकर्मीहरुलाई एकताबद्ध भएर आफ्नो पेशाप्रति प्रतिबद्ध हुँदै काम गर्न आग्रह गर्दछु । साथै पत्रकार महासंघलाई आवश्यक सल्ला सुझावको अपेक्षा गर्दछु ।
साभार : पाण्डव शर्मा (गणतन्त्र दैनिक)