पहिलो चरणमा आएको १० हजार किट सकिए । नयाँ किट तत्कालै आउने संभावना छैन् । जिल्ला जिल्लाबाट माग आइरहेको छ । केन्द्रले पठाएमा मात्र हामीले जिल्लामा पठाउने हो । प्रदेशस्तरमै किटको अभाव छ । किट ल्याउनका केन्द्रसँग सम्वन्य भइरहेको छ ।
दिनेश कुमार चापागाई
निर्देशक, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, बुटवल
प्यूठान : दोस्रो लहरको कोरोना भाइरसबाट संक्रमित व्यक्तिहरु प्यूठानमा दिनहुँ थपिदै गएका छन् । मंगलवार मात्र जिल्लामा ५३ जना पोजेटिभ संक्रमितहरु थपिएका छन् । यो सँगै हालसम्म जिल्लामा पोजेटिभ व्यक्तिहरुको संख्या ३ सय २८ पुगेको छ । २ सय ९९ जनाको एन्जिीन परिक्षण र २९ जनाको पिसिआर परिक्षण गरी संक्रमित पत्ता लागेको स्वास्थ्य कार्यालय प्यूठानका सूचना अधिकारी एवं जनस्वास्थ्य अधिकृत पुष्कलप्रसाद श्रेष्ठले जानकारी दिए । संक्रमितमध्ये जिल्ला अस्पताल, स्वर्गद्धारी नगरपालिका, माण्डवी र ऐरावती गाउँपालिकाका आइसोलेसनमा ११ जना र अन्य ३ सय १७ जना होम क्वारेन्टाइनमा बसेका छन् ।
संक्रमितहरु दिनहुँ थपिदै गएपनि जिल्लामा कोरोना परिक्षण गर्ने एन्टिजीनको अभाव हुन थालेको जनस्वास्थ्य अधिकृत श्रेष्ठले बताएका छन् । पहिलो चरणमा प्राप्त भएको २ हजार २ सय किट सकिन थालेको उनले बताए । हाल ३ सय मात्र किट मौज्दातमा रहेको श्रेष्ठले जानकारी गराए । जिल्लाभरका लागि ६ हजार किट माग गरिएको उनले बताए । जिल्लाभरबाट किटको माग आइरहेको छ’,उनले भने,‘अभाव भइसकेकाले उपलव्ध गराउन सकेका छैनौ ।’ उनले प्रदेश र संघीय सरकारले तत्कालै जिल्लामा एन्टिजिन किट उपलव्ध गराइदिन आग्रह गरे । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र बुटवलमा किटको माग गरिएको श्रेष्ठले जानकारी गराए ।
पहिलो चरणमा आएका किटहरु जिल्लाका नौ वटै स्थानीय तहमा पठाइएको छ । उक्त किटको माध्यमबाट बढीमा २० मिनेटमै कोरोना संक्रमित व्यक्तिहरुको पहिचान गराउन सकिने श्रेष्ठले बताए । एन्टिजिन पोजेटिभ आएका व्यक्तिहरुको पिसिआर परिक्षण गर्न नपर्ने उनको भनाई छ । पिसिआर परिक्षणका लागि जिल्लाको स्वाब बुटवल र दाङ पठाउनुपर्ने बाध्यता छ ।
एन्टिजिन किट नेपाल सरकारले प्रदेश मार्फत जिल्ला जिल्लामा पठाउने हुँदा त्यसको पर्याप्तता हुन सकेको छैन् । नीजि क्षेत्रका व्यवसायीहरुलाई सरकारी अनुमति दिएर किट विक्री वितरणका लागि अनुमति दिन व्यवसायीहरुले माग गरेका छन् ।
प्यूठानका स्थानीय तहहरुले तयार पारेको आइशोलेसनमा राख्नका लागि अक्सिजन मेशिनको अभाव भइरहेको बताएका छन् । पहिलो चरणको कोरोनामा अक्सिजनको आवश्यकता नभएपनि यसपटक हुनैपर्ने अवस्था देखिएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
गाउँपालिकामा स्वास्थ्य कार्यालयले उपलव्ध गराएको दुई सय किट सकिएकाले थप परिक्षण गर्न समस्या भइरहेको माण्डवी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शिसिर रिजालले जानकारी गराए । ‘कोरोना बस्ती स्तरमा फैलिदै छ’,उनले भने,‘परिक्षण गर्ने किट सकिएको छ । पिसिआर गर्ने प्रक्रिया झन्जेटिलो, खर्चालु र जोखिम छ ।’ उनले एन्टिजिन किटको परिक्षणको दायरालाई सरकारले फराकिलो बनाउनुपर्ने बताए । एक महिनाका लागि तत्काल एक हजार ५ सय किट आवश्यकता भएको उनले जानकारी गराए । यस विषयमा जिल्लाकै सांसद् एवं लुम्विनीका स्वास्थ्य तथा जनसंख्या मन्त्री हरि रिजाललाई समेत जानकारी गराइएको गाउँपालिका अध्यक्ष श्रीधर रोकाले बताए ।
प्रदेशमै छैन् किट
पहिलो चरणमा लुम्विनी प्रदेशमा उपलव्ध भएको दश हजार वटा किट जिल्ला जिल्लामा पठाइएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र बुटवलका निर्देशक दिनेश कुमार चापागाईले जानकारी गराए । ‘पहिलो चरणमा आएका किट सकिएको छ’,उनले भने,‘नयाँ किट केन्द्र सरकारसँग माग गरेका छौ । केन्द्रले पठाएमा मात्र हामीले जिल्लामा पठाउने हो । तत्काल आउने संभावना देखिदैन् ।’
सरकारले भारतीय सिमानाका बाट आएका संकासपद व्यक्तिहरुको एन्टिजिन किट मार्फत कोरोना परिक्षण गर्न भनेपनि किटको अभाव प्रदेशस्तरमै भएको उनले बताए । किट ल्याउनका लागि स्वास्थ्य सचिवसँग पनि सम्वन्य भइरहेको उनले जानकारी गराए ।
साभार : बुटवल टुडे दैनिक