स्वर्गद्धारी दर्शन गर्ने सपना अँधुरै
‘अघिल्लो दिन नयाँ वर्ष मनाउन स्वर्गद्धारी जाने सल्लाह भएको थियो । त्यही अनुसार हामी नयाँ वर्षको दिन विहान ४ बजे स्वर्गद्धारीका लागि तम्घासबाट हिड्यौँ । गाडीमा हिडेपछि मात्र थाहाँ भयो गाडी त पुराना परेछ । बाटोमा बनाउँदै बनाउँदै गयौँ । ५ ठाउँमा गाडीको टायर पन्चर भयो । टायर बनाउने ठाउँ पनि जहाँ पायो त्यही भेटिने थिएनन् । स्वर्गद्धारी पुग्नै पुग्नै लाग्दा फेरी गाडी पन्चर भएर एक्कासी दुर्घटना भयो ।’ – सुनिता कँडेल, घाइते
२०७८ सालको पहिलो दिन । नयाँ वर्ष मनाउन जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत कर्मचारीहरु प्यूठानको धार्मिकस्थल स्वर्गद्धारी जाने सल्लाह गरे ।
सोही अनुसार गुल्मीबाट स्वर्गद्धारीको यात्रा तय भयो । विहान ४ बजे जिप रिर्जव गरेर १५ जना कर्मचारी र उनीहरुको परिवार सहितको टोली स्वर्गद्धारीको यात्रामा निस्कियो । गुल्मी सदरमुकाम तम्घासदेखि स्वर्गद्धारीसम्मको दुरी गाडीमा करिव सात घण्टा लाग्छ । तम्घासबाट छुटेको जिप पुर्कोटदह सौतामारे, मच्छि, चकचके भिंगृहुँँदै स्वर्गद्धारी नजिक पुग्नै लागेको थियो ।
सात घण्टा लामो यात्राले गाडीमा सवार यात्रुहरु दिक्क लागेपनि स्वर्गद्धारी मन्दिर नजिकै पुग्नै लाग्दा सवै थकान बिर्सिएका थिए । नयाँ वर्षमा स्वर्गद्धारी घुम्न जाने योजना एक्कासी बनेको थियो, त्यसैले पनि सवैजना उत्साहित थिए । स्वर्गद्धारी आश्रम पुग्न करिव ५ मिनेट मात्र थियो । पहिलो पटक स्वर्गद्धारी जाँदा मनमा खुसी र उत्साह नहुने कुरै भएन् । तर, मन्दिरमा पुगेर दर्शन गर्ने सवै कर्मचारीहरुको सपना अँधुरै रह्यो । स्वर्गद्धारी नगरपालिका ३ रुमालेमा उनीहरु सवार बोलेरो जीप दुर्घटना भयो । घटनास्थलमै तीन जनाले ज्यान गुमाए ।
जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत प्रशासकीय अधिकृत श्याम न्यौपाने जसले नयाँ वर्षमा स्वर्गद्धारी दर्शन गर्न जाने अघिल्लो दिन योजना बनाएका थिए । उनैले स्वर्गद्धारीको दैलो टेक्न नपाउँदै ज्यान गुमाए । उनी सहित पाँच जनाले दुर्घटनामा परेर ज्यान गुमाए । ज्यान गुमाउनेमा जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत खरिदारदेखि अधिकृतसम्म छन् ।
मृतक ३९ वर्षिय कार्यालयका प्रशासकीय अधिकृत न्यौपानेको स्थायी घर स्याङजा हो । नायव सुव्वा धुर्कोट गाउँपालिका ७ निवासी ३५ वर्षिय इश्वरी भण्डारी, खरिदार मालिका गाउँपालिका ७ निवासी ३७ वर्षिय यमलाल पन्थी, रेसुंगा नगरपालिका ७ निवासी ३५ वर्षिय सूर्य पन्थी र गाडी चालक मुसीकोट नगरपालिका ३ निवासी २२ वर्षिय केशव कार्कीको ज्यान गएको छ । गाडी चालक र प्रशासकीय अधिकृतको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र भिंगृ र अन्यको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय भिंगृका प्रहरी नायव निरिक्षक बुद्धिप्रसाद रानाले जानकारी गराए ।
तम्घासबाट छुटेदेखि नै गाडीको टायर पन्चर भइरहने घाइते रेसुंगा नगरपालिका ४ अर्खले निवासी घाइते सुनिता कँडेलले सुनाइन । ‘हिडेदेखि नै गाडीको टायर पन्चर भइरहयो’,उनले टेलिफोनमा कुरा गर्दै भनिन्,‘पाँच ठाउँमा टायर पन्चर भयो । बनाउँदै, बनाउँदै गएका थियौँ । पुग्नै लाग्दा दुर्घटना भयो ।’ पुरानो गाडी मर्मत नगरेका कारण दुर्घटना हुन गएको गाडीमा सवार घाइतेहरुको भनाई छ ।
दुर्घटनामा परी अन्य १२ जना घाइते छन् । ती मध्ये दुई जनाको अवस्था गम्भिर छ । उनीहरु सहित ६ जनालाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाण्डौँ लगिएको प्यूठानका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए । मुसीकोट नगरपालिका ६ का ६३ वर्षिय डिल बहादुर थापाको जिल्ला अस्पताल विजुवारमा उपचार भइरहेको छ । गाडीमा १७ जना सवार थिए । ती मध्ये पाँच जना अस्पतालबाट डिस्चार्ज भएर घर गएका छन् ।
स्वर्गद्धारीको आधार शिविर भिंगृदेखि स्वर्गद्धारीसम्म पुग्ने सडक अहिले कालोपत्रे भएको छ । दुर्घटनास्थल रुमालेमा यस अघि पनि पटक पटक बस, जीप दुर्घटना भएर कैयौँले ज्यान गुमाइसकेका छन् । यस अघि सडकका कारण दुर्घटना निम्तिने गरेपनि यसपटक पुरानो गाडीका कारण दुर्घटना हुन गएको स्थानीयको भनाई छ । लु १ ज १६५५ नम्बरको जीप सडकदेखि करिव ६० मिटर तल खसेको छ ।
शोकमा गुल्मी
केही कर्मचारीहरु आफ्ना बालबच्चा सहित स्वर्गद्धारी घुम्न गएको खवर आफूले बुधवार विहान जानकारी पाएको गुल्मीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी गराइन् । कर्मचारीहरुको निधनले सिंगो गुल्मी र कार्यालय शोकमग्न भएको उनले सुनाईन । प्रशासनमा कार्यरत चार जना कर्मचारी सहित पाँच जनाको निधनले पीडाबोध भएको उनले बताइन । उनले कर्मचारीको निधनमा केही दिन अत्यावश्यक बाहेकका सेवा रोकेर शोक मनाउने देखिका कार्यक्रम गर्ने जानकारी गराइन ।