झिमरुक (प्यूठान) : झिमरुक गाउँपालिका प्यूठानले जेष्ठनागरिकलाई लक्षित गर्दै ‘उपाध्यक्ष कोसेली’ कार्यक्रम शुरु गरेको छ । गाउँपालिका भित्र रहेका ८४ वर्ष माथिका जेष्ठ नागरिकहरुको वडा मार्फत तथ्यांक संकलन गरी कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य शाखा प्रमुख विकास के.सी.ले जानकारी गराए ।
जेष्ठ नागरिकलाई प्रदेश सरकार मार्फत विगतका वर्षहरुमा एक आर्थिक वर्षमा तीन पटकसम्म स्वास्थ्यकर्मीहरु घरमै पुगेर जेष्ठ नागरिकको सामान्य स्वास्थ्य परिक्षण गर्ने, औषधी दिने, स्वास्थ्य परामर्श गर्ने काम हुँदै आएका थिए । चालु आर्थिक वर्षदेखि भने गाउँपालिकाले ‘उपाध्यक्ष कोसेली’ कार्यक्रम मार्फत जेष्ठनागरिकलाई कोसेली दिने कार्यक्रम सञ्चालनमा ल्याइएको के.सी.ले बताए ।
कार्यक्रम मार्फत गाउँपालिका भित्रका ८४ वर्ष माथिका एक सय ५० जना जेष्ठनागरिकलाई स्वास्थ्य परिक्षणसंगै कोसेली उपलब्ध गराईने उनको भनाइ छ । कार्यक्रम मार्फत एक जेष्ठनागरिकलाई हरलेस,टबेल,पाउडर,साबुन,टोपी,मोजा,झोला लगायतका सामाग्रीहरु गरी दुई हजार ५ सय रुपैयाँ बराबरको सामाग्री उपलब्ध गराईने के.सी.ले जानकारी दिए ।
बुधवारबाट शुरु गरिएको यस कार्यक्रम आगामी दुई हप्तासम्म चल्नेछ । जेष्ठनागरिकहरु स्वास्थ्यसंस्था तथा पालिकासम्म आउन नसक्ने भएकाले घरमै पुगेर यो सेवा दिईने समेत उनले बताए । जेष्ठनागरिकको स्वास्थ्य जाँचका क्रममा कुनै समस्या देखीएमा स्वास्थ्य संस्थामा रहेको औषधी निशुल्क रुपमा दिने र परामर्श समेत गरिने स्वास्थ्य शाखा प्रमुख के.सी.ले बताए । कार्यक्रम सञ्चालनका लागि पालिकाले चालु आर्थिक वर्षमा तीन लाख ७५ हजार रुपियाँ बजेट विनियोजन गरेको छ ।
पालिका क्षेत्रभित्रका स्वास्थ्यकर्मी र पालिकाका कर्मचारी जनप्रतिनीधिको सल्लाहले यो कार्यक्रम उपयुक्त लागेपछि सञ्चालनमा ल्याईएको गाउँपालिका उपाध्यक्ष पवित्रा जिसीले बताइन । कार्यक्रम मार्फत पालिकाका ८ वटै वडा भित्रका ८४ वर्ष माथिका जेष्ठनागरिकलाई कोसेली उपलब्ध गराईने उनले बताइन । जेष्ठनागरिकलाई उपलब्ध गराएको कोसेली लामो समय निर्वाहका लागि नभएपनि केही टेवा पुग्ने विश्वास लिएको उनले जानकारी गराइन । कार्यक्रमको प्रभावकारीताको आधारमा आगामी वर्ष पनि समावेश गर्न सकिने उनको भनाई छ ।