सभामा गालीगलौज धेरै
बुटवल : टुक्रिएको नेकपाको एक पक्ष प्रचण्ड–माकुने गुटको लुम्विनी प्रदेशस्तरीय विरोध सभा विहिवार बुटवलमा भयो । बुटवलको मुटु मानिने पुष्पलाल पार्क छेउँमै रहेको लुम्विनी प्रादेशिक अस्पतालको खाली जग्गामा विरोध सभा गरियो ।
भेलालाई सम्वोधन गर्न नेकपा अध्यक्ष प्रचण्ड र माधव कुमार नेपाल उपस्थित थिए । नेताहरु घनश्याम भुसाल, ठाकुर गैरे, यूवराज ज्ञवाली, वर्षमान पुन (अन्नत), ओनसरी घर्ती, चक्रपाणी खनाल सहित उपस्थिती थियो । मुलबाटो छेकेर कार्यक्रम भएपनि प्रादेशिक अस्पतालको आकस्मिक गेटदेखि प्रदेशसभा छिर्ने गेटसम्म एकतर्फी गाडी गुडेका देखिन्थे । उसो त ट्राफिक व्यवस्थापन चुनौती वन्दै गएको बुटवलमा विरोध सभा कार्यक्रमले थप चुनौती देखिन्थ्यो । उपचारका लागि आएका एम्बुलेन्सहरुले समयमै विरामी लैजान पाएका थिएनन् ।
नेकपा फूटेपछि दुई धुर्वमा बाँडिएका नेताहरु आ–आफ्नो अस्तित्व रक्षाका लागि दिनानुदिन जिल्ला दौडाहमा छन् । त्यही अस्तित्व जोगाउनका लागि नेताहरु विहिवार बुटवलमा ओइरिएका हुन् । दुवैतिरका नेताहरु जहाँ पुग्छन्, उनीहरुले अरु पार्टी र उनका नेताहरुको नामै लिदैनन् । छुट्टिएर दुई टुक्रमा विभाजित भएका नेताहरुलाई गाली गलौज गर्दैमा उनीहरुको कार्यक्रम सकिन्छ । त्यही दृष्टान्त बुटवलमा पनि दोहोरियो ।
माधव कुमार नेपाल र पुष्पकमल दाहाल (प्रचण्ड) ले आफ्नो पुरै समय केपी शर्मा ओलीलाई गाली गर्दैमा विताए । प्रतिनिधीसभा विघटनपछि उनीहरुले त्यसलाई असंवैधानिक कदम भन्दै आएका छन् । त्यसैमा केन्द्रित रहेर उनीहरुको भाषण सकियो ।
नेकपा विभाजनपछि नेताहरुबीच हुँदै आएको गाली बेइजतीको राजनीतिप्रति नागरिकहरुले दिक्क मानेका छन् । सामाजिक अगुवा, सरकारी क्षेत्रका कर्मचारी र स्वतन्त्र नागरिकहरुले नेताहरुको गालीगलौजको राजनीतिलाई ‘तल्लो स्तरको राजनीति’ को संज्ञा दिएका छन् । कोरोना कहरकै बीचमा भीडभाड बढाएर गरिएका सभा, कार्यक्रमहरुलाई नागरिकहरुले मन पराएका छैनन् । तर, पनि फूटेका नेकपाहरु त्यसलाई निरन्तरता दिन बाध्य छन् ।
मुख्यमन्त्रीले गरे दाङसँग तुलना
प्रचण्ड माकुने पक्षको बुटवलमा आयोजित प्रदेशस्तरीय विरोध सभालाई लुम्विनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा ओली पक्षधर नेता शंकर पोखरेलले दाङसँग तुलना गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत दाङको ५ विगाह क्षेत्रफल जग्गामा भएको जिल्ला सभामा भरिएका जनतासँग बुटवलको १३ कठ्ठा क्षेत्रफल खाली जग्गामा भरिएका जनतासँग तुलना गरेका छन् । उनी लेख्छन्,‘दाङको ५ विगाहमा सम्पन्न जिल्ला सभालाई सानो देख्नेले बुटवलको १३ कठ्ठामा सम्पन्न प्रदेश सभालाई विशाल देख्दो रहेछ ।’ उनले त्यस्तो देख्नेलाई दृष्टिदोषको संज्ञा समेत दिए ।
सामाजिक सञ्जालभरी नेताहरुले आ–आफ्ना कार्यक्रममा हजारौँको संख्यामा जनसहभागिता भएको लेखेका छन् । इलाका प्रहरी कार्यालय बुटवलको संचार शाखाले दिएको जानकारी अनुसार प्रचण्ड माकुने गुटको बुटवलमा आयोजित विरोध सभामा करिव ५ हजार ५ सय नागिरक उपस्थित थिए ।
राजमार्ग चौराह, गोलपार्क र नेपालगञ्ज रोडमा कार्यकर्तालाई भेला गराएर कार्यक्रममा सहभागीता गराइएको थियो । प्रहरीले दिएको जानकारी अनुसार नेता ठाकुर गैरे र घनश्याम भुसालको नेतृत्वमा करिव ९÷९ सय र चक्रपाणी खनालको नेतृत्वमा ४ हजार जनता प्रदेशस्तरीय सभामा उपस्थित थिए ।
मुख्यमन्त्री शंकर पोखरेलले यसै साता दाङको देउखुरीमा आयोजित पक्कीपुल उद्घाटन कार्यक्रममा सहभागी प्रधानमन्त्री केपी ओली शर्माको कार्यक्रमसँग जोडेर टिप्पणी गरेका छन् । कठ्ठामा गरिएको कार्यक्रमलाई विगाहसँग जोड्नेहरुप्रति उनले दृष्टिदोषको रुपमा हेरेका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार प्रधानमन्त्री सहभागी उक्त कार्यक्रममा झण्डै २० हजार जनसहभागीता रहेको तथ्यांक छ ।