नेपाली मुस्लिम समुदायको सघन बसोबास तथा उपस्थिति देशका हरेक जिल्लाहरुमा भएको देखिन्छ । मुस्लिम समुदाय प्रायः व्यापार व्यवसायका शिलसिलामा देशका हरेक कुना काप्चामा पुगेका छन । उनीहरु विशेषत ः कपडा फेन्सी तथा कस्मेटिक्सको व्यवसायमा लागेका छन् । यस आलेख मार्फत मैले विशेषत सुर्खेत स्थित विरेन्द्रनगर नगरपालिका वडा नं. १० पिपिरामा अवस्थित मुस्लिम समुदायको बसोबासबारे केही चर्चा गर्न खोजिरहेको छु ।
पिपिरा गाउँ ।
५० वर्ष अघि दैलेखबाट बसाइसराई गरी पिपिरामा मुस्लिम समुदाय आएर बसोबास गरेको पाइयो । केही दिन अघि सुर्खेत पिपिरमा त्यहाँका स्थानीय सौकत अलिको नेतृत्वमा त्यहाको बस्तुस्थितिबारे बुझ्ने अवसर पायौँ । कार्यक्रमको समन्वय बुटवलमा कपडाको थोक व्यवसाय गर्दैै आउनुभएका प्रिय मित्र सुर्खेतकै स्थानीय सौकत अलिकै जेठा छोरा रजीउल्ला हुसैनले गरेका थिए । सुर्खेतको चर्चा देशैभरी भनेझै, मेरो पहिलो यात्रा त्यो रमणीय ठाँउमा थियो । त्यसमाथि त्यहाको वर्षौ अघिको सामुदायिक मुस्लिम बसोबास भ्रमण अत्यन्तै यादगार रहने मनमा लागिरहेको थियो ।
२०२६ सालबाट पिपिरामा मुस्लिम बस्ती बस्न शुरु भएको स्थानीय सामाजिक अगुवा तथा मदरसा–मदिना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अहमद रजाले जानकारी दिए । पिपिरामा हाल दुइ सय भन्दा बढी घरधुरीका करिब एक हजार ५ सय जनसंख्या रहेको उनले बताए । चेतनाको दृष्टिकोणले अत्यन्तै चनाखो त्यहाँको मुस्लिम समुदाय आर्थिक पाटोमा निकै कमजोर रहेकोप्रति रजाले चिन्ता व्यक्त गरे । बिरलै मात्रामा संम्भव हुने मुस्लिम मदरसालाई नेपाली पाठयक्रमलाई संगसंगै लगेर स्वीकृत माध्यमिक विद्यालय चलाउन सक्ने त्यहाको स्थानीय मुस्लिम समुदायको आर्थिक जिवन किन बलियो हुन सकेन ? कैयन प्रश्न उव्जिएका छन् ।
पिपिराकै अर्को वस्ती ।
पिपिरादेखि नजिकै रहेको सुर्खेतको मुख्य केन्द्र विरेन्द्रनगर बजार, वर्षौ अघिको उनीहरुको नजिकैको बसोबास छ । तर, गरिबि जस्ताको त्यस्तै ज्याला मजदुरीमा भर पर्नुपर्ने त्यहाका मुस्लिम युवा बर्गको अवस्था दर्दानक छ । हामीलाई यस प्रश्नको जवाफ खोज्न निकै कौतुहुल्ता जाग्यो । खासमा मुस्लिम समुदायलाइ समाजमा अरुभन्दा टाठोबाठो, चतुर, व्यापार व्यवसायमा अब्बल भनेर अन्य जातीहरुले मानिरहेका छन् । यसो हुँदाहुँदै पनि यहाँको समुदाय किन आर्थिक प्रगतीको मामिलामा न्यूनस्तरका भए होलान ? अहमद रजा भन्छन्,‘व्यापार व्यवसायमा यहाका मुस्लिम समुदाय लागेनन् । पूर्खापुर्वजहरु कृषिमा नै आधारित रहे ।’ उनका अनुसार युवापुस्ताको व्यापार व्यवसायमा लगाव नै रहेन् ।
मुस्लिमका अगुवाहरुसँग जानकारी लिँदै ।
विहान कमाउने साँझ परेपछि रमाउनेमै सिमित रहेको रजाले बताए । २०६३ सालदेखि पिपिरामा कक्षा एकदेखि मदरसा मदिना सामुदायिक विद्यालयको शुरुवात गरिएको रजा बताउँछन् । २०७२ सालमा माध्यमिक तहको विद्यालय संचालन अनुमती पाएको मदरसा तथा मदिना विद्यालयमा दुइ सय ८५ जना विद्यार्थी अध्ययनरत छन् । अधिकांश मुस्लिम विद्यार्थी बाहुल्य रहेको विद्यालय संचालनमा स्थानीयहरुले वर्षेनी चन्दा संकलन गरि विद्यालय चलाउँँदै आएका छन् । ‘नीजि स्रोतबाट दश जना शिक्षकलाई तलब भत्ता दिँदै आइरहेका छौँ’, रजाले भने,‘विद्यालय चलाउन आर्थिक समस्या निकै चुनौती छ ।’
अनौठो कुरा त्यहाका मुस्लिमहरु आफ्नो मौलिक ‘चुरेटा’ भाषा बोल्दैनन् । उनीहरु नेपाली भाषा मात्र बोल्दछन् । हामीले सोेध्यौँ तपाईहरु किन हाम्रो चुरेटा भाषा नबोलेको ? जवाफ दिँदै अगुवा युवा सज्जत खाँनले भने, ‘हाम्रो बुवा–आमा पनि बोल्नु भएन । हामीलाई त त्यो भाषा बोल्नै आउदैन् । तर केही पार्सी शब्दहरु बुझ्छौँ र प्रयोग पनि गर्दछौँ ।’ सज्जत पढाईमा भने स्नातक हुन् । केही समय एक गैर सरकारी संस्थामा काम गरेपनि हाल उनी बेरोजगार छन् । यूवापुस्ताहरु किन व्यापार व्यवसायमा नलागेका होलान ? प्रश्नमा खाँनले भने, ‘पूँजिको अभाव र अनुभव भएन् । अग्रजहरुले व्यापार भन्ने कुरा नै सिकाएनन् । र, पछि प¥यौँ ।’
अन्य जिल्लाका मुस्लिम समुदायहरुमा व्यापार व्यवसाय पुस्ता हस्तान्तरण हुने गरेपनि पिपिराको सवालमा यो लागु भएन् । ज्यालादारी मजदुरी नै यहाँका मुस्लिमहरुको दैनिकी रहेछ । पछिल्लो समय फाट्टफुट्ट मात्रामा केहीले पिपिरा बजार र विरेन्द्रनगर आसपासमा पसल गर्न थालेको सज्जतले बताए ।
दैलेखबाट झरेर बस्ती बस्यो
करिब दुइ सय वर्ष अघिबाट दैलेखमा मुस्लिम समुदायको बसोबास भएको पाईन्छ । चार पुस्ता बित्दै अहिले यहाँसम्म आइपुगेको मुस्लिम अगुवाहरु बताउँछन् । दैलेखमा र दैलेखबाट सुर्खेत पिपिरामा आएका मुस्लिम सुमदायहरुले गैर मुस्लिमहरुसँग बिहेबारी गर्छन् । चेतना र शिक्षाको अभावले मुस्लिम समुदायमा विकृतिहरु समेत मौलाउँदै गएको रजाको बुझाई छ । पिपिरामा नेपाली सुन्नी मस्जिद गुलशने मदिना अध्ययन केन्द्र समेत रहेको छ । बाग्लुङको बलेवाबाट करिब दुइ वर्ष अघि दैलेखमा पूर्वजहरु आएर बसेको इतिहास छ ।
शिक्षामा के छ ?
करिब १५ जनाले पिपिरामा प्रवीणता प्रमाणपत्र तह, पाँच जनाले स्नातक र एक जनाले स्नातकोत्तर उत्र्तिण गरेको पाइयो । स्वास्थ्य क्षेत्रमा दुइ जना मुस्लिम नारीहरुले स्टाफ नर्स तर्फ जागिरे छन् भने पाँच जना विद्यालयमा शिक्षक तथा लेखापाल पदमा कार्यरत रहेछन् ।
सामाजिक तथा सांस्कृतिक सम्बन्ध
पिपिराका स्थानीय मुस्लिम यूवा यूवतीको विहेबारी विशेषत सल्यान, बर्दिया, दैलेख, वाँके जिल्लामा हुँदै आईरहेको छ । पिपिराका मुस्लिम समुदायहरुले नामको पछाडी थर मिँया लेख्दैनन् । उनीहरुले बक्स, खाँन र सैयद लेख्दै आएका छन् ।
अर्घाखाँचीका मुस्लिम सुर्खेतमा
सुुर्खेतमा शुरुमा अर्घाखाँची निवासी पहिलो मुस्लिम सौकत अलि २०४६ सालमा पुगेका हुन् । व्यापार व्यवसायकै शिलशिलामा उनी सुर्खेत पुगेका रहेछन् । हाल अर्घाखाँचीबाट सुर्खेतमा व्यवसाय गर्न २० घरधुरी पुगेको अलि बताउँछन् । समग्र सुर्खेतमा बसोबास गर्ने मुस्लिम समुदायको हकहित र अधिकारका लागि सर्वदलीय रुपमा जिल्ला मुस्लिम समन्वय समितिको गठन भएको छ । सौकत अलि त्यसका संस्थापक अध्यक्ष समेत हुन् । पिपिराको विकास र मुस्लिम समुदायको पक्षमा उनी सदैव क्रियाशिल रहँदै आएका छन् ।
पिपिरामा पहिले कब्रस्थानको समस्या थियो । कब्रस्थानमा कब्रहरुले भरिएपछि त्यहाँ चिन्ता छायो । तर सौकत अलिकै भाई हबिब हुसैनको नेतृत्वमा हाल करिब ३० लाख बराबरको जग्गा कब्रस्थानको लागि खरिद गरिएको छ । कब्रस्थान व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका हबिब हुसैनले भने, ‘करिब बाह्र लाख बराबरको थप जग्गा पनि खरिद गर्ने तयारीमा छौँ ।’ हुसैन बिरेन्द्रनगरमा अवस्थित मस्जिद व्यवस्थापन समितिको उपाध्यक्ष पदमा समेत रहेर सामाजिक उत्तरदायित्व बहन गर्दै आएका छन् । सुर्खेतको मुस्लिम समुदायको हकहित र परिवर्तनमा राज्यको नजर पुग्नु जरुरी देखिन्छ ।